कोरोना महामारीमा अति आवश्यक परेपछि प्रादेशिक अस्पताल जनकपुरमा एकसाथ ८ वटा भेन्टिलेटर जडान भइरहेको छ।
आठवटै नयाँ भेन्टिलेटर आज जडान भइरहेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमोद यादवले जानकारी दिए ।
उनका अनुसार उक्त आठवटै भेन्टिलटर समाजिक विकास मन्त्रालय प्रदेश २ ले खरिद गरेर प्रादेशिक अस्पताललाई प्रदान गरेको हो।
प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना महामारीलगायत अन्य दिनमा समेत सिकिस्त बिरामी बाहिर रेफर गर्नुपर्ने बाध्यता छ।
कोरोना संक्रमण बढेसँगै बिरामीले भेन्टिलेटरको कारण प्रादेशिक अस्पतालमै ज्यान गुमाउनुपरेको भन्दै प्रदेश सरकारको व्यापक आलोचना हुँदै आएको थियो।
अन्ततः प्रदेश सरकारले आठवटा भेन्टिलेटर अस्पताललाई प्रदान गरेको हो ।
यसअघि युएस एड भन्ने संस्थाले सहयोगमा दिएको चारवटा भेन्टिलेटर गत बुधबार जडान गरिएको थियो । तर उक्त भेन्टिलेटरहरु २४ घण्टा समेत चल्न नसकेर बिग्रिएको मेडिकल सुपरिटेन्डेन्ट यादवले बताए।
अहिले जडान भइरहेको यो आठवटै भेन्टिलेटर बिरामीका लागि ठूलो राहत बन्ने उनले विश्वास व्यक्त गरे।
प्रादेशिक अस्पताल जनकपुरमै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत तीन महिना अघि स्थापना गरेको थियो।

प्रतिक्रिया