समाज


उपत्यका भित्रिने मुख्य नाका नागढुंगामा स्थापना भयो ‘स्वास्थ्य जाँच केन्द्र’

उपत्यका भित्रिने मुख्य नाका नागढुंगामा स्थापना भयो ‘स्वास्थ्य जाँच केन्द्र’

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ६:२७,

चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो।

उक्त केन्द्रको बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संयुक्तरूपमा सुरु गरे।

नगरपालिकाद्वारा स्थापना गरिएको उक्त केन्द्रमा सोही नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले बताए।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह, नगर प्रवक्ता हरिभक्त महर्जन, चन्द्रागिरि–२ का वडाध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति थियो।

हालसम्म चन्द्रागिरिमा दुई हजार ३७९ जनालाई कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका प्रवक्ता महर्जनले जानकारी दिए।

तीमध्ये दुई हजार १८१ निको भएर घर फर्किसकेका छन् भने १५८ होम आइसोलेसन र १४ जना अस्पतालमा उपचारत छन्। हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण २६ जनाले ज्यान गुमाइसकेका छन्।

सबै वडामा अत्यावश्यकबाहेक सबै सेवा बन्द
नगरपालिकाले नगरपालिकामा निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।

नगर प्रमुख गिरीले बुधबार एक विज्ञप्ति जारी गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने जानकारी दिएका हुन्।

चन्द्रागिरिले निषेधाज्ञा अवधिभर सर्वसाधारण सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad