सरकारले कोरोना संक्रमणविरुद्ध प्रभावकारी मानिएको रेमडेसिभिर औषधि देशका सबै कोरोना अस्पतालमा उपलब्ध गराउने भएको छ।
औषधि व्यवस्था विभागले आज एक विज्ञप्तिमार्फत सरकारले तोकेको कोभिड अस्पतालमा मापदण्डअनुसार उक्त औषधि प्रयोग गराउन सिफारिस गरेको हो।
विभागका अनुसार हार्मो मेडी कन्सर्न प्रालि काठमाडौंले बेक्सिम्को फर्मास्युटिकल्स लिमिटेड बंगलादेशबाट उत्पादित बेम्सिभिर इन्जेक्सन (रेमडेसिभिर) ३ हजार भइल आयात गरेकोमा आयातकर्ताले पेस गरेको विवरणअनुसार वितरण भएको छ।
सबै प्रकारको कोभिड १९ को बिरामीको लागि यो औषधि आवश्यक नपर्ने र यो औषधि कोभिड १९ को अचूक औषधि समेत नभएकाले सिफारिसकर्ता चिकित्सकले समेत उपचार प्रोटोकलअनुसार सिफारिस गरी औषधिको तर्कसंगत प्रयोग गर्न विभागले आग्रह गरेको छ।
उक्त औषधि पाएका अस्पतालले अनिवार्य रुपमा संलग्न ढाँचामा सो औषधिको प्रयोगको विवरण अनिवार्यरुपमा आयातकर्ता र विभागमा पेस गर्नुपर्नेछ। ढाँचाबमोजिमको प्रयोग विवरण प्राप्त नभएका अस्पतालमा सो औषधि पुनः उपलब्ध नगराइने पनि विभागले स्पष्ट पारेको छ।

Shares

प्रतिक्रिया