काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार बढी सवारी साधन प्रतिदिन कारबाहीमा पर्ने गरेका छन्। अत्यावश्यक र पासबिना सडकमा निस्किएको भन्दै ट्राफिक प्रहरी महाशाखाले दैनिक २ हजार बढी सवारी साधनलाई नियन्त्रणमा लिएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर सवारीको अनुगमन गरिरहेको छ।
महाशाखाले काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कूटनैतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको जनाएको छ।
मंगलबार दिउँसो १२ बजेसम्म ९ सय ५३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
मंगलबार नियन्त्रणमा लिएका सवारी साधनमा ६९७ ओटा दुई पाङग्रे, २०७ ओटा चार पाङग्रे, ३० ओटा ट्याक्सी र १९ ओटा ठूला सवारी साधन छन् ।
महाशाखाले अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गर्दै बिनापास वा बिना परिचयपत्र बाहिर निस्किनेलाई कारबाही गरेको जनाएको छ। ट्राफिक प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिएर साँझ छाड्ने गरेकोमा अब कारबाही मात्र गरेर छाड्ने जानकारी दिएको छ।
ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको दिन अर्थात वैशाख १६ मा काठमाडौं उपत्यकामा २ हजार ३९ वटा गाडी नियन्त्रणमा लिएको थियो। जसमा दुईपांग्रे सवारी साधन १४ सय ८८ वटा थिए भने चारपांग्रे सवारी साधन ५५१ वटा थिए।
निषेधाज्ञाको तेस्रो दिन वैशाख १८ गते २ हजार ९८ वटा गाडी नियन्त्रणमा लिएको थियो। जसमा १६ सय ९ वटा बाइक तथा स्कुटर रहेका थिए भने ४८९ वटा चारपांग्रे सवारी साधन रहेको महाशाखाले जनाएको छ।
निषेधाज्ञाको चौथो दिन अर्थात् १९ गते २२ सय ९ र पाँचौँ दिन २ हजार ७४ वटा सवारी साधन कारबाहीमा परेका थिए।
ट्राफिक प्रहरीले अत्यावश्यक ढुवानीका साधनलाई भने ठूला अक्षरमा ब्यानर राखेर ढुवानी गर्न आग्रह गरेको छ। त्यसबाहेक स्थानीय प्रशासनबाट काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञाअनुसार सरकारी कार्यालयका कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, सञ्चारकर्मी बाहेक अन्यलाई नियन्त्रणमा लिने गरेको छ।
त्यसैगरी प्रहरीले काठमाडौं उपत्यका भित्रिने सवारी साधनलाई समेत कडाई गरेको छ। अहिले काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाबाट दैनिक ३ हजारको हाराहारीमा सवारी आउने गरेका छन्।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सोमबार २ हजार ७ सय ५५ वटा सवारी उपत्यकाभित्र प्रवेश गरेका थिए। त्यस्तै २ हजार ३ सय ८८ वटा सवारी बाहिरिएका छन्।

प्रतिक्रिया