ad ad

समाज


अस्पतालबाट दीप बस्न्यातको निवेदनः वृद्ध र मुटुको रोगी छु, थुनामुक्त गरीपाऊँ

अस्पतालबाट दीप बस्न्यातको निवेदनः वृद्ध र मुटुको रोगी छु, थुनामुक्त गरीपाऊँ

उजिर कार्की
बैशाख १७, २०७८ शुक्रबार १५:२९,

ललिता निवास जग्गा प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।

शुक्रबार बस्न्यातका तर्फबाट उनका सहयोगी प्रज्ज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्।

बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन अनुसार सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो। सोही मुद्दामा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

डिल्लीबजार कारागार चलान भएका उनी हाल कोरोना संक्रमण भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन्। बस्न्यातले निवेदनमा आफू वृद्ध र रोगी पनि भएकाले थुनामुक्त गर्न माग गरेका छन्।

‘मेरो उमेर ६९ वर्ष हुनका साथै मुटु रोग लगायतका साविकदेखि नै विभिन्न रोगहरुले पीडित रहेको छु। अहिलेको अवस्थामा मलाई कोरोना संक्रमण भई चाबहिलस्थित ओम अस्पतालको हाइ केयर युनिटमा भर्ना गरी राखेको अवस्था छ। कोरोनाको संक्रमण अत्यन्तै गम्भीर हुन पुगी मलाई अक्सिजनको सपोर्टमा श्वासप्रश्वास गराइराखिएको अवस्था छ,’ बस्न्यातको निवेदनमा भनिएको छ, ‘मुटुको पुनः शल्यक्रिया नगरे जीवन नै जोखिममा पर्ने अवस्था समेत छ। यस अवस्थामा मलाई मानवीय दृष्टिकोणले समेत बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु पर्ने निर्विवाद छ।’

मुटुमा गम्भीर समस्या आएका कारण भारतको नयाँ दिल्लीमा उपचार गराएको र फलोअपमा त्यहीँ जानु पर्ने उनले बताएका छन्। थाइराइड, ब्लड प्रेसर र सुगरको समेत बिरामी रहेको उनले उल्लेख गरेका छन्। यस्तै बस्न्यातका परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको बताइएको छ।

कोरोना संक्रमणमा आफ्नो सिटी भ्यालु १२.७२ मात्रै रहेको उनले उल्लेख गरेका छन्। २०७७ मंसिर २८ गते बस्नेतलाई थुनामा राख्न विशेष अदालतको आदेश खारेज गर्न माग गरिएको छ।

उक्त आदेशले आफ्नो मौलिक हकमा आघात पुगेको उनको भनाइ छ। बस्न्यातले यसअघि पनि उक्त आदेश खारेजको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।

उक्त निवेदनमाथि सुनुवाइ नहुँदै उनले आफूलाई थुनामा नराख्नु पर्ने कारण समेत उल्लेख गरेका छन्। उनको रिटमा भनिएको छ, ‘मुद्दा अनुसन्धानका क्रममा तारेखसमेत नतोकिएको र अदालतबाट जारी भएको म्यादभित्रै उपस्थित भएको मलाई थुनामा राख्नै पर्ने कुनै कारण समेत दिन सकेको छैन।’

उनले विशेष अदालत र कारागार कार्यालय डिल्ली बजारलाई विपक्षी बनाएका छन्।

बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा हडप्ने निर्णय गराउन उनको संलग्नता रहेको भन्दै अख्तियारको मुद्दामा विशेष अदालतले थुनामा पठाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .