ad ad

समाज


दुर्घटनामा परी ७ जनाको मृत्यु

दुर्घटनामा परी ७ जनाको मृत्यु

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ६:२५,

दाङ, मोरङ, बाँके, बाजुरा, चितवन र धनुषाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।

दाङ, घोराही उपमहानगरपालिका–६ चैनपुर नजिक रा.१ ख ४६८ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री ५ वर्षीया सीमा महराको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही ठाउँ बस्ने हिरा महराकी छोरी हुन्।

ठक्करबाट गम्भीर घाइते भएकी सीमाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

मोरङ, बेलबारी नगरपालिका–८ चिस्याङ खोलास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–९ बस्ने ८३ वर्षीया मनमाया तामाङको बिहीबार साँझ मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

यसैगरी मोरङ, लेटाङ नगरपालिका–८ स्थित सडकमा को.१ ख १९२४ नम्बरको बसबाट झर्ने क्रममा सोही बसले किच्दा बसमा सवार मिक्लाजुङ गाउँपालिका–५ जोगीटार बस्ने ५१ वर्षीय सहबिर मगरको बिहीबार दिउँसो मृत्यु भएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँके, राप्तिसोनारी गाउँपालिका–९ ढकेरी सिमलचोकस्थित सडकमा भे.१ त ७९९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २७ वर्षीय दीपक पुनको घटनास्थलमै मृत्यु भएको छ।

बाजुरा, स्वामिकार्तिक खापर गाउँपालिका–३ भण्डारी वाडास्थित सडकमा ‘अन टेष्ट’ (सिकारु) लेखिएको ट्याक्टरको ट्रलीमा चड्ने क्रममा लडेर सोही गाउँपालिका जुकोट बस्ने अंगे कडराको छोरा ९ वर्षीय जगत कडराको घटनास्थलमै मृत्यु भएको छ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन, भरतपुर महानगरपालिका–४ पिपल चोकस्थित सडकमा चौबिसकोठीबाट रामपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल ठेगाना नखुलेका ७५ वर्षीय तुल बहादुर थापाको बिहीबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनामा शंकास्पद २ वटा सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, मिथिला नगरपालिका–१० लालगढस्थित सडकमा एनएल ०१ जि ४०४१ नम्बरको लहरी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, ठेगाना नखुलेका करिब २६ वर्षीय पुरुषको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ। लहरी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .