समाज


भारतीय भेरिएन्टः पीसीआरबाट पत्ता नलाग्ने, संक्रमितछेउ १ मिनेट बस्नासाथ सरिहाल्ने !

भारतीय भेरिएन्टः पीसीआरबाट पत्ता नलाग्ने, संक्रमितछेउ १ मिनेट बस्नासाथ सरिहाल्ने !

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ८:३८,

कोरोना भाइरसको नयाँ स्ट्रेन अर्थात् डबल म्युटेन्ट, जसलाई भारतीय भेरिएन्ट पनि भन्न सकिन्छ, पीसीआर परीक्षण गर्दा पनि पत्ता नलाग्ने समस्या भइरहेको भारतीय विज्ञले बताएका छन्।

कोरोना संक्रमण देखिएका धेरै मानिसको पीसीआर रिपोर्ट नेगेटिभ पाइएको हो। तर त्यो गलत रिपोर्ट आएको भारतीय विज्ञले बताएका छन्।

भारतको कोभिड–१९ टास्क फोर्सका सदस्य एवं अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का निर्देशक डा. रणदीप गुलेरिया भन्छन्, ‘पीसीआर रिपोर्ट नेगेटिभ आएर पनि जुन मानिसमा कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण छन्, तिनलाई कोरोनाकै प्रोटोकलअनुसार उपचार गर्न आवश्यक छ।’

उनी अगाडि भन्छन्, ‘यस्तै कोरोनाको नयाँ स्ट्रेन अति संक्रामक छ, यसबाट संक्रमित मानिसको सम्पर्कमा स्वस्थ व्यक्ति केवल १ मिनेट बस्दा पनि संक्रमण सरिरहेको छ।’

कोरोना संक्रमण भए पनि आउन सक्छ रिपोर्ट नेगेटिभ
नमुना संकलन सही किसिमले भएन, भाइरल लोड कम वा परीक्षण चाँडो भयो भने रिपोर्ट नेगेटिभ आउन सक्छ। एम्सका निर्देशक डा रणदीप गुलेरिया यस्तो अवस्थामा २४ घण्टापछि बिरामीको सीटी स्क्यान गरियो भने वास्तविक अवस्था पत्ता लाग्ने बताउँछन्।

स्वाद वा बास्ना थाहा नपाउनु
यदि खानाको स्वाद आइरहेको छैन। कुनै चिजको बास्ना/गन्ध थाहा भइरहेको छैन भने यो पनि कोरोना संक्रमणको लक्षण हुन सक्छ। कतिपयलाई धेरै दिन यस्तो लक्षण देखिइरहँदा पनि रिपोर्ट नेगेटिभ आउन सक्छ।

ज्वरो आउनु वा चिसो लाग्नु
ज्वरो आउनु कोरोना संक्रमणको सबैभन्दा प्रमुख लक्षण हो। औषधि खाँदा पनि ज्वरो आइरह्यो वा चिसो लागिरह्यो भने कोरोना संक्रमण भएको हुन सक्छ।

थकाइ लाग्नु
खोकी र ज्वरोसँगै थकान तथा कमजोरी महसुस भइरहेको छ भने त्यो कोरोना लक्षण हुन सक्छ। कोरोनाबाहेक अन्य भाइरल इन्फेक्सनमा पनि थकान महसुस त हुन्छ तर कोरोना संक्रमणमा देखिने यो लक्षण हराउन लामो समय लाग्छ।

घाँटी दुख्नु
कोरोना संक्रमण हुँदा सुक्खा खोकी लाग्छ। ८० प्रतिशत संक्रमितमा घाँटी दुख्ने लक्षण देखिएको छ। यदि तपाईंलाई ज्वरो र सुक्खा खोकीका साथ घाँटी दुख्ने समस्या भइरहेको छ भने कोरोना संक्रमण भएको हुन सक्छ।

पेटसम्बन्धी समस्या
कोरोना संक्रमणको नयाँ लक्षणमा पेटमा एसिडिटी वा ग्यासको समस्या देखिनु सामान्य भइसकेको छ। सुरुमा यसलाई गम्भीर मानिँदैनथ्यो। तर अहिले डाक्टरहरू अपच, पखाला, पेटमा दुखाइ, उल्टी आदिका कारण बिरामीमा ग्यासको समस्या बढ्न थालेको बताउँछन्। यसकारण पेटसम्बन्धी समस्या देखिनु पनि कोरोनाको लक्षण हुन सक्छ।

विशेषज्ञ भन्छन् : डबल म्युटेन्ट भाइरसलाई मानिसको प्रतिरक्षा प्रणालीले पहिचान गर्न सकिरहेको छैन। यसकारण संक्रमण तीव्र गतिमा फैलिरहेको हो। पीसीआर टेस्टले समेत यो पत्ता लगाउन नसकिरहेको अनुमान गरिएको छ। यसैले भारत सरकारले टेस्ट किटमा संशोधन गर्ने तयारी गरिरहेको छ। दैनिक भास्करबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad