सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमित बिरामीको उपचारको क्रममा मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिए।
ड.पोखरेलका अनुसार सोमबारै धनुषाको जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उच्च रक्तचापको बिरामी ती पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको हो।
कोरोना संक्रमणको कारण मृत्यु भएको दुवै जनाको शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। हालसम्म प्रतिष्ठानमा १२५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको प्रतिष्ठानले जनाएको छ। रासस

प्रतिक्रिया