प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले कास्कीको पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला विक, चितवन भरतपुर महानगरपालिका–१९ बस्ने ४४ वर्षीय मौसम भन्ने केशबहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका–१ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नविन अधिकारी भन्ने नबराज अधिकारीलाई पक्राउ गरेको हो।
उनीहरूमध्ये बिमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केश बहादुरलाई चितवन भरतपुर महानगरपालिका–३ बाट शुक्रबार र नबराजलाई चितवन पुल्चोकबाट शुक्रबार नै पक्राउ गरिएको हो।
बिमलाले पीडितलाई फेसबुक मार्फत कुराकानी गरी राम्रो कमाई हुने काममा लगाईदिने भनि काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्टहाउसमा शुरुमा वेटरको काम लगाई डर, धाक, धम्की देखाई बेश्यावृतिमा लगाएको प्रहरीले जनाएको छ।
यस्तै, केश बहादुरले पीडितलाई राहदानी बनाउन सहयोग गरी भारतको बिभिन्न स्थानमा बन्धक बनाई श्रीलंकासम्म लगी अलपत्र बनाएको तथा नवराजले पीडितलाई लिबियामा क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारी दुवई हुँदै लिबियामा लगि कोठामा बन्धक बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
उनीहरूउपर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया