ad ad

समाज


दैनिक ३३० लाई चाहिन सक्छ आईसीयू-भेन्टिलेटर, यस्तो छ अहिलेको अवस्था?

दैनिक ३३० लाई चाहिन सक्छ आईसीयू-भेन्टिलेटर, यस्तो छ अहिलेको अवस्था?

यज्ञराज जोशी
बैशाख ९, २०७८ बिहिबार १३:२३,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक ११ हजारसम्म पुग्न सक्छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संसदमा यो आँकडा प्रस्तुत गरेका थिए।

हालसम्मको अध्ययनअनुसार संक्रमितमध्ये ३ प्रतिशत जटिल अवस्थामा पुग्नसक्छन् र उनीहरुलाई आईसीयू–भेन्टिलेटरको आवश्यकता पर्नसक्छ। जसअनुसार नेपालमा दैनिक ११ हजार संक्रमित देखिए त्यसको तीन प्रतिशत अर्थात् ३३० जनालाई आइसीयू–भेन्टिलेटर चाहिने अवस्था आउनसक्छ।

सरोकारवालाहरुले भविष्यमा संकट आउन नदिन प्रक्षेपण अनुसारको तयारी स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने बताएका छन्।

‘अघिल्लोपटक भन्दा संक्रामक शैलीको भाइरस आएको छ। संख्या बढेपछि आईसीयू भेन्टिलेटरमा पुग्नेहरुको पनि संख्या बढ्छ,’ जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले भने, ‘मन्त्रालयको आकलन अनुसार ११ हजार संक्रमित पुगे तीन प्रतिशतलाई मात्रै चाहियो भने तीन सय बढी आईसीयू–भेन्टिलेटर चाहिन्छ। त्यो अनुसारको तयारी हुनुपर्छ।’

स्वास्थ्य मन्त्रालयको मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा १ हजार १६७ आईसीयू बेड र ५१० भेन्टिलेटर छन्। त्यसको १३ प्रतिशत बेड मंगलबारसम्ममा भरिइसकेका छन्। उपत्यकाका केही ठूला अस्पतालमा त बिरामीले आईसीयू र भेन्टिलेटर पाउन छाडिसकेका छन्।

नेपाल अहिले दोस्रो चरणको सुरुवाती अवस्थामा रहेकाले गत वर्षभन्दा दोब्बर आईसीयू–भेन्टिलेटर चाहिने दीक्षितले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा संक्रमण देखिनसक्ने अनुमान गरिएको बताए।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उनले असारसम्म ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई आईसीयू आवश्यक पर्ने अनुमान सुनाएका थिए।

‘पछिल्लो पटक हामीले टेकु, पाटनलगायतका अस्पतालको स्थिति हेर्दा बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने गरेको पाइयो,’ उनले थपे, ‘पहिलो दिनमा उहाँहरु जनरल बेडमा बस्नुहुन्छ। दोस्रो दिनमा अक्सिजनमा जानुहुन्छ, तेस्रोमा आईसीयू, चौथोमा भेन्टिलेटर र त्यसपछि एकदुई दिनभित्र बिरामीहरु मरिरहेको अवस्था देखिन्छ। यति छिटो संक्रमण बढिराखेको छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले अहिले नै अस्पतालका सबै भेन्टिलेटर भरिएको र आईसीयू पनि एक–दुईवटामात्रै बाँकी भएको जानकारी दिए।

गतवर्ष नै मानिसहरु आइसीयू–भेन्टिलेटर नपाएर फनफनी कयौं अस्पताल धाउनुपरेको स्मरण गर्दै उनले यसपटक संक्रमण उत्कर्षमा पुग्दा अभाव हुनसक्ने बताए।

‘गतवर्षको सम्झिँदा पनि आईसीयू भेन्टिलेटर नपाएर फनफनी नाच्नुपरेको थियो। पोहोरभन्दा यो पटक संक्रमण बढी छ। त्यहीअनुसार आईसीयू भेन्टिलेटर पनि थप आवश्यक पर्छ,’ डा. पुनले भने, ‘टेकुमा अहिले आईसीयू एकदुईबाहेक छैन। भेन्टिलेटर सधैँ प्याक हुन्छ। सुरुवाती अवस्थामै यस्तो छ भने यसबाट उत्कृर्षमा पुग्दा एकदमै समस्या हुने देखिन्छ।’

मन्त्रालयले नै खतरा रहेको र भयावह स्थिति आउनसक्ने बताउँदै आएकाले त्यही अनुसारको तयारी गर्नुपर्नेमा उनले जोड दिए।

यसैहप्ता संसदको शिक्षा तथा स्वास्थ्य समितिमा निम्त्याइएका काठमाडौँका ठूला अस्पतालका निर्देशकहरुले पनि जटिल बिरामीका लागि आईसीयू–भेन्टिलेटर बेडको अभाव हुने चेतावनी दिइसकेका छन्।

पाटन अस्पतालमा १७ भेन्टिलेटर र २१ आईसीयू बेड छन्। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा नयाँ बिरामीले आईसीयू बेड पाउन छाडेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए।

‘बिरामीको संख्या बढ्दै गएकाले आईसीयू र भेन्टिलेटर पाउन मुस्किल परेको हो,’ शाक्यले भने, ‘नयाँ आईसीयू खरिद गरेर तुरुन्तै स्थापना गरिहाल्ने अवस्था पनि छैन। यसतर्फ सबैले सचेत हुन आवश्यक छ।’

पाटनसँगै वीर, टेकु, सिभिल लगायत उपत्यकाका ठूला अस्पतालका निर्देशकहरुले भनाइ पनि त्यस्तै छ।

आइतबार १ हजार ९६ जनामा देखिएको संक्रमण, सोमबार १ हजार २८१ र मंगलबार १ हजार ७३६ जनामा संक्रमण देखिएको थियो। यो संख्या बढेर बुधबार २ हजार ३५१ जना र बिहीबार २ हजार ४२७ पुगेको छ।

नेपालमा कोरोना पोजिटिभिटी रेट पनि १२.२ प्रतिशत छ। पोजिटिभ देखिनेमध्ये १.१ प्रतिशतको मृत्यु भएको छ।

mahakali hospital ICU 1

आईसीयू–भेन्टिलेटरको अवस्था
नेपालमा संक्रमण बढ्नुमा यूके भेरियन्ट र डबल म्युटेन्ट मुख्य जिम्मेवार रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल बताउँछन्।

भारत र नेपालमा उस्ताउस्तै संक्रमण देखिएकाले संक्रमण ह्वात्तै बढ्नसक्नेमा उनले सचेत गराए। तर अहिले नै तथ्यांकमा हेर्दा आइसीयू–भेन्टिलेटर बेडको अभाव भइनसकेको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा आईसीयू बेड संख्या मंगलबारसम्म १ हजार १६७ वटा छ। यस्तै ७ वटै प्रदेशमा ५१० वटा भेन्टिलेटर छन्।

प्रदेश १ मा ११० बेड आईसीयू र ४० बेड भेन्टिलेटर छ। जहाँ ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचारत छन्। प्रदेश २ मा ४८ बेड आईसीयू र २१ बेड भेन्टिलेटर छ। मंगलबारसम्म यहाँ ७ जना आईसीयूमा उपचाररत छन् भने भेन्टिलेटरमा कोही छैनन्।

यस्तै बागमती प्रदेशमा ५५६ बेड आईसीयू र २५५ बेड भेन्टिलेटर छ। यहाँ ७२ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत छन्। गण्डकीमा २४३ बेड आईसीयू र ६७ बेड भेन्टिलेटर छ। यस प्रदेशमा १ जना आईसीयू र एक जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

लुम्बिनी प्रदेशमा १४२ बेड आईसीयू र ९० बेड भेन्टिलेटर छ। जहाँ ५७ जना आईसीयू र ११ जना भेन्टिलेटरमा उपचाररत छन्। बाँकेमा भारतबाट आउनेहरुमा संक्रमण बढी देखिएका कारण यस प्रदेशमा संक्रमण ह्वात्तै बढेको छ। बाँकेमा एक हप्ता निषेधाज्ञा लगाइएको छ।

यस्तै कर्णाली प्रदेशमा ३९ बेड आईसीयू र १२ बेड भेन्टिलेटर छ। यहाँ १० जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा २९ बेड आईसीयू र २४ बेड भेन्टिलेटर छ। यस प्रदेशमा ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन।

लुम्बिनी प्रदेशमा उपलब्ध क्षमताको ४० प्रतिशत आईसीयू भरिइसकेको छ। यस्तै यहाँ १२ प्रतिशत भेन्टिलेटर बेड अहिले नै बिरामीले भरिसकेका छन्। त्यसबाहेक प्रदेश २ मा क्षमताको १४.६ प्रतिशत आईसीयू बेडमा कोरोना संक्रमितको प्रयोगमा आएका छन्।

कर्णालीमा २५, सुदूरपश्चिममा १७, बागमतीमा १३, प्रदेश १ मा ७ र गण्डकी प्रदेशमा १ प्रतिशत आईसीयू बेडमा बिरामी रहेका छन्।

‘जुन हिसाबले संक्रमण बढिरहेको छ, त्यस हिसाबले आइैसीयू–भेन्टिलेटर पुग्दैन कि भन्ने चिन्ता पनि बढेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘तथ्यांकमा भने अहिले नै अभाव देखिँदैन। हामीले आवश्यक पर्ने ठाउँमा थप्ने नै छौँ।’

उपत्यकाको स्थिति
काठमाडौं उपत्यकाका तीन जिल्लामा पनि आईसीयू भेन्टिलेटरमा पुग्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ। बुधबार उपत्यकामा ५६ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

सबैभन्दा बढी ह्याम्स अस्पतालमा १९ जना आईसीयू र १ जना भेन्टिलेटरमा, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १० जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै टेकु अस्पतालमा ९ जना आईसीयू र १० जना भेन्टिलेटरमा, पाटन अस्पतालमा ६ जना आईसीयू र १० जना भेन्टिलेटरमा, वीर अस्पतालमा ४ जना भेन्टिलेटर र ४ जना आईसीयूमा, शिक्षण अस्पतालमा ३ जना आईसीयू र १ जना भेन्टिलेटरमा, प्रहरी अस्पताल र ग्रान्डी अस्पतालमा १–१ जना आईसीयूमा उपचाररत छन्।

प्रमुख विशेषज्ञ डा. पोखरेलले उपत्यकाका आईसीयू र भेन्टिलेटरको अवस्थालाई मन्त्रालयले निगरानी गरिरहेको र आवश्यक पर्ने बिरामीले ११३३ र १११५ मा फोन गरेर खाली भएको अवस्थाबारे बुझ्न सक्ने बताए।

गत वर्षभन्दा यसवर्ष ५०० आईसीयू र २६० भेन्टिलेटर थपिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .