काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चमा रहेको सिटी बसपार्क वैशाख १५ गतेदेखि हटाउने निर्णय गरेको छ।
बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो।
खुल्ला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ।
यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ। ज्ञवालीका अनुसार टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन्।
यस्तै छोटो दूरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन्। पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ।
यसका आधारमा निवेदक (यातायात सञ्चालक)हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन्।
त्यहाँको बसपार्क सारेर वैशाख १५ गतेभित्र महानगरले त्यस ठाउँका सबै संरचना हटाउनेछ।
‘हामीले यस प्रयोजनका लागि धेरै पटक, सरोकारवालासँग छलफल गरेका छौँ’, सहरी सु–व्यवस्था विभागका प्रमुख धुब्र काफ्ले भन्छन् ‘हामी सिटी बस पार्कसँग सरोकार राख्नेहरुलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौँ।’
बैठकमा यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल, ट्राफिक प्रहरी महाशाखाबाट सुनिलजंग शाह, नगर प्रहरी उपरीक्षक धनपति सापकोटासहित अधिकारीहरु रहेका थिए।

प्रतिक्रिया