ad ad

समाज


मृतकको जग्गा नक्कली मालिक खडा गरी बेचियो, १० जना पक्राउ

मृतकको जग्गा नक्कली मालिक खडा गरी बेचियो, १० जना पक्राउ

उजिर कार्की
बैशाख ९, २०७८ बिहिबार ११:०,

मृतकको नाममा रहेको जग्गा किर्ते गरेर बेचबिखन गरेको आरोपमा १० जना पक्राउ परेका छन्।

झापाको विर्तामोड नगरपालिका १ स्थित महेन्द्र राजमार्गसँग जोडिएको स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा बेचविखन गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कित्ता नं ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफल रहेको जग्गालाई भू–माफियाहरुको गिरोहले संगठित रुपमा योजना बनाएर बेचबिखन गरेको पाइएको झापा प्रहरीले जनाएको छ।

मृतक टुंगबहादुर बस्नेतको नागरिकतामा भएको विवरण समावेश गरेर अर्कै व्यक्ति खडा गरिएको थियो।

माफियाहरुले नक्कली नागरिकता बनाइ गत असोज २८ गते काठमाडौँ जिल्ला अदालतबाट झापा बाह्रदशी गाउँपालिका ३ घर भई हाल विर्तामोड नगरपालिका २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेसनामा बनाएका थिए। उक्त वारेसनामा मार्फत झापा विर्तामोड नगरपालिका ४ बस्ने रञ्जु राईको नाममा गत माघ २१ गते जग्गा राजीनामा पास गरेको पाइएको छ।

पक्राउ परेका व्यक्तिहरु जग्गा कारोबार गर्ने पाइएको छ। पूर्वकर्मचारी र मालपोत कार्यालयको काममा आवतजावत गरिरहने व्यक्तिको मिलेमतोमा ३ वर्ष पहिलेदेखि नै योजना बनाएको र हाल उक्त जग्गा रन्जु राईको नाममा ल्याएको प्रहरीले जनाएको छ।

यसरी गरियो किर्ते
घटनामा संलग्नमध्ये एक व्यक्ति हुन् बाह्रदशी गाउँपालिका ३ झापाका मंगलसिंह राजवंशी। उनैले मृतकको नाममा अर्कै व्यक्ति खडा गराएका थिए। सुरुङ्गाको कोटीहोममा गई धर्मशालामा बसोबास गर्ने देवीप्रसाद पाण्डेलाई ५ लाख रुपैयाँ दिने प्रलोभनमा टुंगबहादुर बस्नेतका रुपमा खडा गराएका थिए। उनी आफू भने धर्मपुत्रको रुपमा खडा भएका थिए।

उनीहरुले जिल्ला अदालत काठमाडौंबाट वारेसनामा लिई सो जग्गा मालपोत कार्यालय भद्रपुरबाट राजीनामा पास गरेका थिए।

नवीन कोइराला नमस्ते होटल चन्द्रगढीका सञ्चालक हुन्। भद्रपुर ७ झापाका ५२ वर्षीय कोइराला नापी कार्यालयका पूर्वकर्मचारी पनि हुन्। सुरुमा योजना बनाउने र टुंगबहादुरको नाममा रहेको जग्गा पत्ता लगाउने कार्यमा उनको संलग्नता देखिएको छ। उनी टुंगबहादुरको नागरिकता विवरण पत्ता लगाउन इलाम पुगेका थिए। किर्ते गरी नागरिकता बनाउने कार्यमा गिरोहलाई सहयोग गरेका थिए। यो काम गराउनका लागि गोविन्द बान्तवाबाट १४ लाख रुपैयाँ लिएको पाइएको प्रहरीले जनाएको छ।

जग्गा कारोबारी लीलाधर राजवंशीलाई पनि प्रहरीले पक्राउ गरेको छ। नक्कली जग्गा धनी खडा गरिएका व्यक्ति उनैले पहिचान गरेका हुन्। मंगलसिंहलाई धर्मपुत्र बनाउने र आर्थिक लाभ हुने प्रलोभन उनैले दिएका थिए। उनले बलराम र मंगलसिंहलाई भेट गराइ वारेसनामाका लागि काठमाडौं पठाउन भूमिका खेलेका थिए।

भोजपुरका बलराम विश्वकर्मा पनि यो किर्ते प्रहरणमा मुछिएका छन्। भोजपुरका ३७ वर्षीय विश्वकर्मा हाल गौरीगंज गाउँपालिका १ झापामा बसोबास गर्छन्। वडाध्यक्षलाई काठमाडौं लैजाने र वारेसनामा बनाउने कार्यमा उनको मुख्य भूमिका रहेको प्रहरीले जनाएको छ।

भूपदेव कटवालसँग मिलेर टुंगबहादुरको नागरिकतामा देवीप्रसाद पाण्डेको फोटो टाँसी नक्कली नागरिकता तयार गरेका थिए। रन्जुको नाममा जग्गा पास गराउँदा उनी साक्षी पनि बसेका थिए।

नेपाल विद्युत प्राधिकरण फिक्कल शाखाका कर्मचारी भुपदेव कटवालको पनि संलग्नता देखिएको छ। उनलाई पनि प्रहरीले पक्राउ गरेको छ। कटवालले टुंगबहादुरको नाममा नागरिकताको प्रतिलिपि बनाउने र वारेसनामा लिने कार्यमा उनको पनि संलग्नता देखिएको छ।

विर्तामोडमा ट्याक्टर शोरुम सञ्चालन गर्ने र जग्गाको कारोबार पनि गर्ने लेखनाथ न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको छ। योजना बनाउनेदेखि जग्गा बेचबिखन गर्न अरुलाई सामेल गराउने र आवश्यक रकमको जोहो गर्न समेत उनको संलग्नता देखिएको छ। उनले मालपोतका कर्मचारीसँग सहज रुपमा काम गराएको र राजीनामा लिखतमा साक्षी पनि बसेको पाइएको छ।

दोभान कन्स्ट्रक्सनका सञ्चालक गोविन्द वान्तावा पनि पक्राउ परेका छन्। उनकै श्रीमतीको नाममा जग्गा पास गरिएको थियो। यस्तै नक्कली टुंगबहादुर बनेका देवीप्रसाद पाण्डे र जग्गा पास गराइएकी रञ्जु राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई वारेसनामा लिने कार्यमा प्रयोग गरेका गाडीका साहु राजन विश्वकर्मा पनि पक्राउ परेका छन्। उनले किर्ते जग्गामा संलग्नलाई सिमकार्ड समेत निकालिदिएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले बताए।

डीएसपी थापाका अनुसार घटनामा संलग्न ६ जना भने फरार भएका छन्। गौरादह १ का वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाका अधिकृत चेतन अधिकारी, सोही कार्यालयका तत्कालीन नायब सुब्बा हरि तिवारी, ओखलढुंगाका बेगप्रसाद कोइराला, खोटाङका देवबहादुर विष्ट र झापाका प्रकाश कार्की फरार छन्। उनीहरुमध्ये कोही साक्षी बसेको र कोही किर्ते कार्यमा प्रत्यक्ष संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .