भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म लगाइएका कोरोना खोपको संख्या तथा त्यसको प्रभावकारिताबारे विवरण सार्वजनिक गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रालयले खोप अभियान सुरु भएयता पहिलोपटक यसबारे विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार खोप लगाएका हरेक १० हजार जनामा २ देखि ४ जनासम्मलाई मात्र कोरोना संक्रमण देखिएको छ, अरू सुरक्षित छन्।
स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणका अनुसार भारतमा अहिलेसम्म ९३ लाख ५६ हजार ४३६ जनालाई कोभ्याक्सिनको पहिलो डोज दिइएको छ, जसमध्ये ४ हजार २ सय ८ जनलाई संक्रमण देखिएको हो। यसैगरी यसको दोस्रो डोज लिएका १७ लाख ३७ हजार १ सय ७८ जनामध्ये ६९५ जनालाई मात्र कोरोना संक्रमण देखिएको छ।
यस्तै भारतमा अहिलेसम्म १० करोड ३ लाख २ हजार ७४५ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन्। यीमध्ये १७ हजार १४५ जनालाई कोरोना संक्रमण देखिएको भारतका स्वास्थ्य सचिव भूषणले जानकारी दिए। उनका अनुसार यसैको दोस्रो मात्रा लिएका १ करोड ५७ लाख ३२ हजार ७५४ जनामध्ये ५ हजार १४ जनालाई मात्र कोरोनाको संक्रमण भएको छ।
अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित एवं भारतद्वारा उत्पादित कोभिसिल्ड खोप नेपालमा पनि प्रयोग भइरहेको छ।
आईसीएमआरका महानिर्देशक डा. बलराम भार्गवका अनुसार खोप लगाइसकेपछि पनि मानिसलाई कोरोना संक्रमण हुन सक्छ। तर गम्भीर बिरामी हुने जोखिम निकै कम हुन्छ।
यो पनि : भारतका वैज्ञानिकको दाबी : हामीले बनाएको भ्याक्सिन कोरोनाको डबल म्युटेन्टविरुद्ध पनि प्रभावकारी

प्रतिक्रिया