गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा तीन जनाको मृत्यु भएको छ। चट्याङ लागेर अर्का एक जना गम्भीर घाइते भएका छन्।
चट्याङ लागेर बाग्लुङको ताराखोला गाउँपालिका-२ सिले निवासी ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर ताराखोला गाउँपालिका-३ रातमाटाकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छन्।
त्यसैगरी स्याङ्जाको फेदीखोला-५ बायाँ फड्केमा पनि चट्याङ लागेर ३९ वर्षीय ईश्वरी लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। भैँसी दुहुन गोठमा गएको बेला लामिछानेलाई चट्याङ लागेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले जानकारी दिए।
चट्याङले गम्भीर घाइते भएका ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। त्यसैगरी गएराति नै भोजपुरमा पनि हावाहुरीसमित परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
षडानन्द गाउँपालिका- ८ निगुरेमा चट्याङ लागेर स्थानीय ६० वर्षीया मनमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी चट्याङ लागेर पर्वतको जलजला-८ लुप्राङमा एउटा भैसी, एउटा गोरु र दुईवटा बाख्रा मरेका छन्। गएराति काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा हावाहुरीसहित हल्का वर्षासमेत भएको छ।
प्रदेश २ का जिल्लामा ६ महिनापछि गएराति सामान्य वर्षा भएको छ। वर्षा भएपछि आकाशमा लागेको तुवाँलो केही हटेको छ।
यो पनि : आज पनि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, सतर्क रहनुहोला : मौसमविद्

प्रतिक्रिया