समाज


भक्तपुरमा ९ दिन ८ रातको बिस्का जात्रा सुरु

भक्तपुरमा ९ दिन ८ रातको बिस्का जात्रा सुरु

नेपालखबर
चैत २८, २०७७ शनिबार ३:६,

हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ।

यो जात्रा ९ दिन ८ रातसम्म लाग्छ। टौमढीस्थित ङातापोल (पाँचतले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै जात्रा सुरु गरिन्छ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र अगाडि बेताल देवता राखी पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि जात्रा सुरु हुन्छ। यसपालि दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ।

भक्तपुर नगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरेर जात्राको कार्यक्रम तय गरेको हो। तालिकाअनुसार आज बिहान ५ बजे नै भैरवनाथको महास्नान पूजा र ५:३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिएको छ।

बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्ने, बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्थ समेतको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९ बजेदेखि ९:३० बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धरको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९:३० बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइके भएर पूजा सम्पन्न गर्ने बैठकपछि जारी जात्रासम्बन्धी कार्यतालिकामा उल्लेख गरिएको छ।

त्यस्तै बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गंगालाल कुस्मासमेतबाट पूजा सम्पन्न गर्ने, १० बजेदेखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिंगार्ने, ११ बजेदेखि १२ बजेसम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घैमसूले श्रीको पूजा सुरु गर्ने कार्यक्रम छ।

त्यस्तै १२ बजे गुठी संस्थान (भक्तपुर) का कार्यालय प्रमुखले तलेजु पुजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने, १ बजेसम्ममा पूजारी प्रगेश राजोपाध्याय दुई जना र हपः दिने चौगुठीहरू दुई जना तलेजुमा उपस्थित हुने, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने र १२ देखि १ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसु गुठीयारले गुह्य पूजा सिध्याई देवता रथमा राख्ने तयारी गरिएको छ।

भैल खः तान्न १ देखि १:३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा बिराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने, १:३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई २:०० बजेदेखि भैरवनाथको रथ तान्न सुरु गर्ने गरी ५:३० बजेसम्म भैरवनाथको रथ गःहिटीमा पुर्‍याई जात्रा सम्पन्न गर्ने तयारी गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ।

यस वर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ।

रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका व्यक्तिबाहेक अन्यलाई नचढ्न अनुरोध गरिएको छ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल सम्वत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।

‘भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ। त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ।

तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ,’ उनले भने, ‘यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो। पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो। त्यसैको अपभ्रंश भएर बिस्केट हुन पुगेको हो। नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ।’

प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गरेका छन्। बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम भएको उनको भनाइ छ।

‘यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो। विश्व भैरवनाथको प्रतिक लिंगोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो। यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ।’ 

गत साल भने कोरोना महामारीका कारण यो जात्रा स्थगन गरिएको थियो। यसपालि पनि स्थानीय प्रशासनले जात्रा रोक्ने निर्णय गरेको थियो। तर स्थानीय बासिन्दाको विरोधपछि खुला गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad