कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागूऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।
सीमा क्षेत्रमा ठूलो मात्रामा लागूऔषध भित्रिन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाका अनुसार मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको हो। ‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो। बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो,’ उनले भने।
घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनिया निवासी बब्बु सिंह घाइते भएका प्रहरीले जनाएको छ। गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेका थिए।
घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया