ad ad

समाज


नेपाल र चिनियाँ प्रहरीको अनुसन्धान राडारमा एटीएम ह्याकर

नेपाल र चिनियाँ प्रहरीको अनुसन्धान राडारमा एटीएम ह्याकर

उजिर कार्की
चैत १९, २०७७ बिहिबार १४:२८,

मंगलबार साँझ मेगा बैंकको एटीएम ह्याकिङ प्रयास भएपछि प्रहरीले त्यसको कनेक्सन पत्ता लगाउन अनुसन्धान केन्द्रित गरेको छ।

चिनियाँ ह्याकरबाट पटक–पटक नेपालका बैंकिङ सिस्टममा आक्रमण हुन थालेपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको हो।

नेपाल प्रहरीले चीनियाँ प्रहरीको समेत सहयोगमा अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका व्यक्तिको विवरण चिनियाँ प्रहरीलाई उपलब्ध गराएर चीनमा पनि अनुसन्धान भइरहेको प्रहरी उच्चस्रोतले नेपालखबरलाई बतायो।

मंगलबार काठमाडौंमा पक्राउ परेका २९ वर्षीय योङ छियालोङलाई केन्द्रित गरेर काठमाडौंस्थित चिनियाँ दूतावासको सहयोगमा चीनमा पनि अनुसन्धान सुरु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

यता पक्राउ परेका व्यक्तिका साथमा फेला परेका उपकरण समेत नेपाल प्रहरीले अनुसन्धानका लागि ल्याबमा पठाएको छ। यस्तै एटीएम र डाटा (तथ्यांक) राख्न प्रयोग गरेका उपकरणबारे पनि अध्ययन गरिएको छ।

Chinese ATM hacker saman 1मंगलबार पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद सामग्री

पक्राउ परेका व्यक्ति दुई दिनको लागि मात्रै भिजिट भिसामा मंगलबार नै नेपाल आएको पाइएको छ। उनले चीनमा हुँदै अनलाइनबाटै ठमेलको एक होटल बुकिङ गरेका थिए।

उनी मंगलबार साँझ ज्याठास्थित मेगा बैंकको एटीएमको सिरियल नम्बरको फोटो खिचेर हिडेका थिए। तर त्यहाँबाट हिडेका उनलाई बैंकका कर्मचारीको सहयोगमा तत्कालै प्रहरीले पक्राउ गरेको थियो।

यो पनि : यसरी असफल भयो चिनियाँ ह्याकरको एटीएम रित्याउने दोस्रो योजना

पछिल्लो समय नेपाल आएका चिनियाँ नागरिकमाथि प्रहरीले विशेष निगरानी थालेको छ। एटीएम खोल्ने नक्कली चाबि समेत उनीसँग फेला परेकाले ठूलै योजना रहेको बैंक र सुरक्षा अधिकारीहरुको अनुमान छ।

उनको साथबाट बैंकका दुई प्रकारका १० वटा एटीएम कार्ड बरामद भएका छन्। ती एटीएम कार्डको आधिकारिकता र त्यहाँ के कस्ता डाटा (तथ्यांक) छन् भन्ने पनि अनुसन्धानका लागि पठाइएको छ।

पक्राउ परेका व्यक्तिको चीनमा सम्बन्ध र पृष्ठभूमि समेत प्रहरीले अनुसन्धान सुरु गरेको छ।

‘अभियुक्तको उदेश्य के थियो, उनले लगेका डाटाले बैंकिङ क्षेत्रमा के असर गर्न सक्छ भनेर पनि बैंकिङ क्षेत्रका विज्ञसँग मिलेर अनुसन्धान भइरहेको छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने।

Chinese ATM hacker saman 2मंगलबार पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद सामग्री

उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

एटीएम बुथमा प्रवेश गरेर मेसिन खोलेर फोटो खिचे पनि उनले पैसा भने निकालेका थिएनन्।

मेगा बैंकको सेन्ट्रल मनिटरिङ सिस्टमबाट उनका गतिबिधि देखेपछि उनलाई तत्काल पक्राउ गर्न प्रहरी सफल भएको थियो। उनको साथबाट विभिन्न खालका १० थान चाबि समेत बरामद भएको छ।

डेढ वर्षपहिले पनि राजधानिमा चाइनिज नागरिककै संलग्नतामा नबिल बैंकको एटीएम ह्याक गरेर विभिन्न बैंकको खातामा भएको रकम निकालेका थिए।

याे पनि: एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ

उनी चीनबाट आएकै दिन यस्ता गतिविधिमा लाग्नु र दुई दिनमै फर्किने तयारीले एटीएम ह्याकको योजना चीनमै बन्दै गरेको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउपछि उनले दुई दिनमै फर्किने योजना रहेको प्रहरीलाई बताएका छन्।

पक्राउ परेका व्यक्तिले यहाँ प्रयोग भएको एटीएमको प्रविधि पत्ता लगाएर थप योजना बनाउने हुनसक्ने प्रहरीको अनुमान छ।

उनले होटल मन्टेसको कोठा नं ४०५ बुक गरेका थिए। प्रहरीले उनीबाट १० वटा बिभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चिनियाँ, अमेरिकी र नेपाली रकम लगायत बरामद गरेको छ।

याे पनि: 

प्रभु बैंकका सीओओ दिनेश, जसको सूचनाले बैंकहरु ठूलो दुर्घटनाबाट जोगिए

एटीएम सिस्टम ह्याकिङः विश्वमा पुरानो, नेपालमा नौलो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .