समाज


भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिने क्रम बढ्दो

भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिने क्रम बढ्दो

यज्ञराज जोशी
चैत १८, २०७७ बुधबार १३:३४,

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार २९ जनामा कोरोना परीक्षण गरिएको थियो। तीमध्ये १५ जनामा संक्रमण देखियो।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार संक्रमित १५ मध्ये १२ जना भारतका विभिन्न सहरबाट नेपाल प्रवेश गरेका थिए।

भारतमा संक्रमण बढेपछि नेपालीहरु घर फर्किरहेका छन्। सुदूरपश्चिमेलीको प्रमुखमध्येको एक चाड चैते दशैँ आउन लागेकाले प‍नि घर फर्किनेको संख्या बढ्दैछ।

त्यसमध्ये शंकास्पदहरुको परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो। श्रेष्ठका अनुसार पछिल्ला दिनमा प्रयोगशालामा दैनिक भारतबाट आउनेहरुमा संक्रमण देखिन थालेको छ।

‘भारतबाट आउनेको संख्या पनि बढ्दो छ। शंकास्पदहरुको नमुना जाँच गर्दा संक्रमण पनि देखिएको छ,’ श्रेष्ठले भने, ‘यही क्रम जारी रहे फेरि पुरानै अवस्था नआउला भन्न सकिँदैन। सीमामाजाँचमा कडाइ गर्नुपर्ने अवस्था छ।’

सुदूरपश्चिममा कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी मुख्य नाका हुन्। जहाँबाट दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्छन्। सीमा नाकामा एक हेल्थ डेस्क स्थापना गरेपनि त्यो पर्याप्त नभएको श्रेष्ठले बताए।

गतहप्ता वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा पनि १० जना भारतबाट आएकालाई संक्रमण देखिएको थियो। सीमामा जाँचमा कडाइ गरिएपनि भारतबाट आउनेहरुमा संक्रमण नरोकिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए।

‘गत हप्ता ५० जनाको परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको थियो,’ चौरसियाले भने, ‘ठूलो नाका भएकाले आवातजवात पनि बढी हुन्छ। हेल्थ डेस्क राखेका छौँ। अहिले त्यति धेरै संक्रमण देखिएको छैन तर सन्तोष मान्ने ठाउँ पनि छैन।’

चौरसियाका अनुसार संक्रमण बढ्नसक्ने भन्दै नारायणी अस्पताललाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ। सम्बन्धित पालिकाले नाकामा आइसोलेसनको व्यवस्था गरेका छन्।

सीमामा टाढाबाट आउनेहरु र शंकास्पदहरुलाई एन्टिजेन परीक्षण गर्ने गरिएको छ। पोजिटिभ देखिए आइसोलेसनमा राख्ने व्यवस्था गरिएको चौरसियाले बताए। यस्तै सीमामा अनावश्यक व्यक्तिलाई छिर्न नदिन स्थानीय प्रशासनले जनपद र सशस्त्रलाई कडा निर्देशन दिएको उनले बताए।

यता नेपालगञ्जको भेरी अस्पतालमा पनि मंगलबार गरिएको ४५ जनाको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका अनुसार बाँकेका १३, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक/एक जना व्यक्तिमा कोरोना संक्रमण पृष्टि भएको हो।

भेरी अस्पतालका निर्देशक डा. प्रकाश थापाले पुष्टि भएकामध्ये अधिकांश भारतबाट आएको बताए। पछिल्लो समयमा भारतबाट आउनेहरुमा संक्रमण बढ्दो क्रममा देखिएको उनले बताए।

167386356_299165401871092_8977320325181794000_n.jpg

प्रदेश १ का नाकाहरुबाट नेपाल भित्रिई परीक्षण गराउनेमध्ये दैनिक औसत २–३ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको सामाजिक विकास मन्त्रालय प्रदेश १ का कोभिड–१९ सचिवालय संयोजक डा. रवीन्द्र निरौलाले जानकारी दिए।

काठमाडौं विश्वविद्यालयका इपिडियोमोलोजी तथा जनस्वास्थ्य विभागका प्रमुख जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले गएको हप्तामा नेपालसहित दक्षिण एसियाली देशमै संक्रमण दर उच्च रहेको बताए।

‘भारतमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता ५१ प्रतिशतले, नेपालमा ३८ प्रतिशतले, पाकिस्तानमा २४ प्रतिशतले संक्रमण बढेको देखिन्छ,’ जनस्वास्थ्यविद् कर्माचार्यले भने, ‘भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्ने देखिन्छ। यसको अर्थ अब दोस्रो चरणको संक्रमण सुरु हुन्छ भन्नेमा हामी सबै सतर्क हुनु आवश्यक छ।’

कर्माचार्यले चैतयता संक्रमण विस्तारै बढ्न थालेकाले टेस्टको पोजिटिभिटी रेट पनि बढेको बताए। मंगलबार मात्रै नेपालको संक्रमणदर ५ प्रतिशत नाघेको थियो। उनले संक्रमणबाट जेष्ठ नागरिक, दीर्घरोगी (मधुमेह, उच्च रक्तपात, श्वासप्रश्वास, मिर्गौला रोगलगायत) र गर्भवती महिलालाई सुरुमा जोगाउनुपर्ने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलगत र हवाई मार्गबाट नेपाल भित्रिने व्यक्तिहरुको त्यहाँ व्यवस्था गरिएको हेल्थ डेस्कमा कोरोना संक्रमण भए–नभएको एन्टीजेन जाँच गरी संक्रमण पुष्टि भएमा १४ वटा अस्पताललाई उपचारका लागि सूचीकृत गरेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भारतमा संक्रमण बढ्दै गएकाले त्यहाँ काम गर्ने नेपालीहरु फर्किंदा नेपालमा पनि संक्रमणको क्रम बढ्दै गएको बताए।

‘पछिल्ला दिनको ट्रेन्ड हेर्दा संक्रमण बढेको छ। अधिकांश भारतबाट आउनेहरुमा संक्रमण देखिएको छ,’ पोखरेलले भने, ‘भारतबाट आउनेहरुलाई सिमानामा जाँच गरस् पोजिटिभ आएको खण्डमा त्यहाँबाट आइसोलेट गर्ने व्यवस्था गरेका छौँ। संक्रमणको जोखिम उच्च भएकाले आइसोलेसन केन्द्रहरु चुस्त दुरुस्त राख्न निर्देशन दिइसकेका छौँ।’

पोखरेलले बीचमा संक्रमण घट्दै जाँदा जोखिम घटेको हो कि जस्तो देखिए पनि संक्रमण नसकिएकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे।

‘नेपालमा कोभिड संक्रमण बिस्तारै उकालो लाग्दै छ, जोखिम कायमै छ,’ उनले भने, ‘हामीले विगतमा यो संक्रमणबाट बच्न जानेका कुराहरू व्यवहारमा कम उतारिरहेकाले रोग फैलिन सघाइरहेको छ ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .