बाग्लुङमा होली खेल्ने क्रममा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्नको खोजीका लागि प्रहरी घटनास्थल पुगेको छ।
आइतबार भएको घटनामा दुई जनाको ज्यान गएपछि बाग्लुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरसहितको टोली घटनास्थल गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी इकवाल हवारीले प्रहरी घटनास्थल पुगेको र घटनामा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए।
निसिखोला गाउँपालिका ७ राजपुत र बडिगाड गाउँपालिका १० दोर्लिङका समूहबीच भएको झडपमा राजपुतका प्रकाश कुँवर र दीपक नेपालीको ज्यान गएको हो। ज्यान गुमाउने कुँवर कांग्रेसका जिल्ला सदस्य र नेपाली सक्रिय सदस्य हुन्।
गुल्मी, प्युठान र बाग्लुङको सीमाना स्थित बल्दे चौरमा हरेक वर्ष होलीका दिन मेला लाग्ने गरेको छ। बडिगार्डकी एक युवतीलाई रंग दल्नेक्रममा विवाद सुरु भएको थियो। दुवै समूहका युवाले रक्सी खाएको पाइएको बडिगार्ड १० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढा मगरले नेपालखबरलाई बताए।
घटनापछि सम्पर्कविहीन भएकाहरु पनि सम्पर्कमा आइरहेको र घटनामा संलग्न केही व्यक्ति भने गाउँमा नरहेको पाइएको प्रहरीले जनाएको छ।
दुवै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाग्लुङ लगिएको छ।
Shares

प्रतिक्रिया