धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजंग कापरको मृत्यु भएको हो। उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए। आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव फेला परेको थियो।
शव शंकास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको खुलेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।
ठक्कर दिई तत्काल घटनास्थलबाट फरार भएको ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ। मृतक महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी रहेको बुझिएको छ। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। रासस
Shares

प्रतिक्रिया