सोमबारदेखि ताइवानका अग्रपंक्तिका कामदारले खोप लगाउन थालेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
ताइवानका प्रधानमन्त्री सु सेङ–चाङले पनि सोमबार नेसनल ताइवान युनिभर्सिटी अस्पतालमा खोपको पहिलो डोज लगाएका छन्।
ताइवानले पहिलो खेपका लागि अस्ट्राजेनिकासँग १ लाख १७ हजार डोज खोप खरिद गरेको छ। खोप लगाएको आधा घण्टापछि प्रधानमन्त्री चाङले आफूमा कुनै गम्भीर असर नदेखिएको प्रतिक्रिया जनाएका छन्।
अस्ट्राजेनिकाको यस खोप लगाउँदा युरोपका केही देशमा रगत जम्ने खतरा उत्पन्न भएको घटना सार्वजनिक भएको थियो। त्यसकारण केही देशले तत्काल यस खोप प्रयोग नगर्ने बताएको छ।
तर युरोपको स्वास्थ्य नियामक संस्थासँगै डब्लूएचओले यो खोप सुरक्षित भएको बताएपछि ताइवानमा यो खोप लगाउन थालिएको हो।
ताइवानमा २ करोड ३६ लाख मानिसहरु छन्। चरणवद्ध रुपमा सबैले निशुल्क खोप प्राप्त गर्ने बताइएको छ।
ताइवानले किन खरिद गरेन चिनियाँ खोप
चीनले सुरुवातदेखि विश्वका सबै मूलुकले कोरोनाविरुद्धको खोप पाउनुपर्छ भन्ने विषयमा जोड दिँदै आएको छ।
तर ताइवानले चिनियाँ खोप खरिद नगर्नुमा राजनीतिक अर्थ भएको विश्लेषकहरु बताउँछन्।
पछिल्लो समय ताइवानको हवाई क्षेत्रमा चिनियाँ सैन्य जहाजहरु घुस्ने गरेका छन्। चीनले वास्तवमा ताइवान आफ्नो देशको हिस्सा भएको बताउँछ।
तर लामो समयदेखि आफ्नो संविधान र शासन व्यवस्था अभ्यास गरिरहेको ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।
चीनले आक्रमण गरेरै ताइवान कब्जा गर्ने बताउँदै आएको छ। खोप खरिद नगर्ने निर्णय चीनप्रतिको असन्तुष्टि भएको बताइन्छ।

प्रतिक्रिया