समाज


उद्याेगीलाई प्रदेश प्रहरी प्रमुखकाे प्रश्न: राज्यको भरोसा छैन र विप्लवलाई चन्दा दिने?

उद्याेगीलाई प्रदेश प्रहरी प्रमुखकाे प्रश्न: राज्यको भरोसा छैन र विप्लवलाई चन्दा दिने?

नेपालखबर
साउन २७, २०७६ सोमबार ११:२२,

प्रदेश नं. ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्।

उक्त समूहले चन्दा आतंक शुरु गरेको व्यवसायीको गुनासोपछि उनले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गरेका हुन्। प्रहरी नायब महानिरीक्षक शाहले भने, ‘हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन? राज्यभन्दा ऊ ठूलो भयो? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी)ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपाइँ हामी सचेत हुन जरुरी छ।’

उद्योग व्यवसायको सुरक्षा गर्न नेपाल प्रहरी तत्पर रहेको उल्लेख गर्दै उनले मर्यादामा रहेर पेशा सञ्चालन गर्नसमेत आग्रह गरे। उद्योग वाणिज्य संघ नवलपरासीले आज परासीमा आयोजना गरेको औद्योगिक सुरक्षासम्बन्धी छलफलमा प्रहरी नायब महानिरीक्षक शाहले भने, ‘उद्योग व्यवसाय भनेको राज्यको मेरुदण्ड हो, तपाईंहरु सबल सक्षम रहे मात्र राष्ट्रको उन्नति हुन्छ, हामी सधैँ सुरक्षा दिन तत्पर छौँ।’

सशस्त्र प्रहरी प्रदेश नं ५ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले खुल्ला सिमानाबाट हुने चोरी–तस्करी तथा अपराध नियन्त्रणमा निरन्तर लागिरहेको बताए। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा रकमको बार्गेनिङ गरेर चोरी–तस्करी मौलाएको भन्ने व्यवसायीको जिज्ञासामा उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाईंदै आएकाले कुनै प्रहरी कर्मचारीले त्यस्तो गरेको पाएमा खबर गर्न पनि आग्रह गरे। उनले औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरी प्रतिबद्ध छ भने।

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष केशव भण्डारीले खुला सिमानाका कारण हुने चोरी, तस्करी तथा अपराध नियन्त्रण हुन नसके औद्योगिक वातावरण नबन्ने भएकाले त्यस्ता समस्या न्यूनीकरण गर्न हामी पनि हातेमालो गर्न तयार छौँ भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad