ad ad

समाज


जसले ४० वर्षपछि भारतको जेलबाट मुक्ति पाए

जसले ४० वर्षपछि भारतको जेलबाट मुक्ति पाए

नेपालखबर
चैत ७, २०७७ शनिबार ८:१०,

भारतको केन्द्रीय कारागारमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना आज (शनिबार) रिहा भएका छन्।

हत्या अभियोगमा पक्राउ गरिएका उनको मुद्दाको सुनुवाइ हुन नसक्दा लामो समय जेलमा थन्किन बाध्य उनी कलकत्ता उच्च अदालतको आदेशमा रिहा भएका हुन्।

जेलमा उनी दीपक जैसी भनेर चिनिन्थे। उनको घर इलामको माई नगरपालिका वडा नम्बर १० हो।

४० वर्षअघि उनी काम खोज्न भनी घरबाट दार्जिलिङ गएका थिए। त्यहाँ भएको एक हत्यामा उनको नाम पनि जोडियो। त्यसपछि उनलाई प्रहरीले पक्राउ गर्‍याे र उनी परिवारसँग सम्पर्कविहीन भए।

त्यही बेला दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चलेको थियो। जति खोज्दा पनि फेला नपरेपछि परिवारले उनी त्यही आन्दोलनमा मारिएको ठाने।

एक महिनाअघि मात्र उनी कलकत्ताको दमदमस्थित केन्द्रीय कारागारमा रहेको कुरा सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो। त्यसपछि मात्र परिवारले दुर्गाप्रसाद जीवितै रहेको थाहा पाएको हो।

उनीसँगै १० वर्ष जेल बसेका राधेश्याम दास नामका व्यक्तिले आफू छुटेपछि दुर्गाप्रसादबारे सञ्चारमाध्यमलाई जानकारी गराएका थिए। त्यसपछि उनको वास्तविकता पत्ता लागेको थियो। र, अन्ततः उनलाई जेलमुक्त गर्ने माहोल बनेको हो।

जसले उनीविरुद्ध हत्या अभियोग लगाएका छन्, त्यो पनि पुष्टि हुन नसकेको बताइएको छ।

४० वर्षसम्म बन्दी जीवन बिताउँदा उनको शारीरिक अवस्था ठीकै देखिए पनि मानसिक स्थिति भने ठीक नरहेको भारतीय अधिकारीले बताएका छन्। अदालतले ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .