ग्रिनकफीले मोटोपना घटाउँछ भन्दै ठगी गरेको पाइएको छ। रसियन नागरिकसँग मिलेर एक नेपालीले ठगिरहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्कीको पोखराका ४२ वर्षीय आशिष आचार्य र रसियन नागरिक ३० वर्षीय इगर कुट्स रहेका छन्। उनीहरुले ग्रिन कफीले मोटोपन घटाउँछ भन्दै विज्ञापन गरेर ९६० रुपैयाँमा किनेको कफी २० देखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरेको सीआईबीले जनाएको छ।
उक्त कफी नियमित खाए एक हप्तामै १३ किलोसम्म तौल घट्ने बताएको पाइएको छ।
पक्राउ परेका व्यक्तिले बेच्न तयार गरेका सामान प्रहरीले बरामद गरेको छ। ग्रिन कफी ६ सय ४४ किलो, बेच्न तयारी अवस्थामा राखेको २ हजार ८ सय २२ प्याकेट, २५ थान ल्यापटप, सीपीयू २ थान र ३ लाख ९७ हजार रुपैयाँ बरामद भएको छ।
उनीहरुले प्रतिकिलो ९६० रुपैयाँ नेपालकै विभिन्न भागबाट खरिद गरेर २० हजार देखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ। टिम वान सप्लायर्स प्रालिको कार्यालय तथा गोदामबाट अन्यत्र गैरकानुनी रुपमा बेच्ने गरेको पाइएको सीआईबीले जनाएको छ।
उनीहरुको भारत र रसियामा समेत कनेक्सन रहेको प्रहरीको अनुमान छ। कम्पनी आशिषको नाममा रहेको र ठगीमा रसियन इगरको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया