समाज


मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राख्ने प्रहरी अधिकारी वाजे आखिर कस्ता व्यक्ति हुन्?

मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राख्ने प्रहरी अधिकारी वाजे आखिर कस्ता व्यक्ति हुन्?

नेपालखबर
चैत ६, २०७७ शुक्रबार १३:५८,

भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थले भरिएको स्कार्पियो राखेको तथा त्यस गाडीका मालिक भनिएका मनसुख हिरेनको हत्या काण्डमा मुम्बईका चर्चित प्रहरी अधिकारी (हाल निलम्बित सहायक प्रहरी निरीक्षक) सचिन वाजे नराम्रोसँग फसेका छन्।

एक समय उनी शिवसेना पार्टीको निकै नजिक रहे, तर अहिले कानुनी दायरामा आएका छन्। पत्रकार र राजनीतिकर्मीबीच निकै लोकप्रिय उनी अहिले कसरी अस्ताए? भारतीय पत्रिका अमर उजालाले तयार पारेको एक रिपोर्ट :

पत्रकारदेखि नेतासम्म लोकप्रिय थिए वाजे
सन् १९९०। महाराष्ट्र प्रहरी बलमा एक सब–इन्स्पेक्टर आए। उनको नाम थियो– सचिन वाजे। पहिलो नियुक्ति गढचिरौलीको माओवादी क्षेत्रमा भयो, तर २ वर्षपछि उनलाई ठाणे सहर प्रहरीमा सरुवा गरियो। प्राप्त जानकारीअनुसार सचिन वाजेले ६३ भन्दा बढी इन्काउन्टर गरेका छन्, तर उनको बर्दीमा कुनै दाग लागेन। जब मुन्ना नेपालीजस्तो कुख्यात् गुन्डा नाइकेलाई उनले ठेगान लगाए, तब उनको प्रख्याती बढेर गयो। भनिन्छ– कैयौं वर्षसम्म ठाणेमै रहेका कारण उनी स्थानीय पत्रकारबीच निकै लोकप्रिय बने। साथै उनी स्थानीय राजनीतिक नेतासँग पनि निकट रहे।

यसरी नियुक्ति पाए अपराध शाखामा
स्रोतका अनुसार प्रदीप शर्माले सचिन वाजेलाई क्राइम इन्टिलिजेन्स युनिट अर्थात् सीआईयूमा ल्याएका थिए। त्यस बेला शर्मा सीआईयूका इन्चार्ज थिए। पत्रकारसँग उनी निकै राम्रो व्यवहार गर्थे। भनिन्छ कि एक पत्रकारले भनेकै कारण सचिन वाजेलाई क्राइम ब्रान्च (अपराध शाखा) मा नियुक्ति मिलेको थियो। यसपछि सचिन प्रदीप शर्मासँग निकै नजिक भए, तर उनको टोलीमा सामेल दया नायकसँग सचिनको प्रतिस्पर्धा सुरु भयो। मुम्बई क्राइम ब्रान्चमा एक समय यस्तो पनि आयो, दया र सचिनबीच इन्काउन्टर गर्न होडबाजी नै चल्यो।

यस घटनाका कारण भएका थिए निलम्बन
मुम्बईमा सचिन वाजेको चर्चा चुलिँदै थियो, तर एकाएक उनको जीवनमा उलटपुलट आयो। सन् २००२ डिसेम्बर २ मा घाटकोपर रेलवेव स्टेसनमा विस्फोट भयो। जसमा २ जनाको मृत्यु भयो भने ५० भन्दा बढी व्यक्ति घाइते भए।

मुम्बई प्रहरीका तत्कालीन आयुक्त एमएन सिंहले सचिन वाजेलाई अनुसन्धान टोलीमा सहभागी गराए। त्यस क्रममा उनले डा. मतिन, मुजम्मिल, जहिर र खवाजा युनुसलाई गिरफ्तार गरेर। सचिन वाजेले भनेका थिए– मुम्बईबाट आरंगबाद जाने क्रममा ख्वाजा युनुस फरार भए। तर डा. मतिनले निर्मम कुटपिटबाट युनुसको मृत्यु भएको खुलासा गरेपछि वाजेसहित ४ प्रहरीविरुद्ध अदालतमा मुद्दा दर्ता भयो। वाजेलाई पक्राउ गरियो। यही काण्डका कारण उनलाई पदबाट निलम्बन गरिएको थियो। त्यो मुद्दा अदालतमा अहिलेसम्म विचाराधीन नै छ।

यसपछि उनले के के गरे?
निलम्बनमा परेपछि सचिन वाजेले तीनवटा आईटी कम्पनी खोले– डिजिनेक्स्ट मल्टिमिडिया, मल्टिबिल्ड इन्फ्राप्रोजेक्ट्स र टेक लिगल सोलुसन नामका। यीमध्ये दुई कम्पनी कर्पाेरेट मामिला मन्त्रालयले बन्द गरिदियो, डिजिनेक्स्ट मल्टिमिडिया भने अहिले पनि सञ्चालनमै छ। भनिन्छ– सचिनले यो कम्पनीबाट धेरै पैसा कमाए। अहिले पनि उनी यसको निर्देशक छन्।

यसरी जोडिए शिवसेनामा उनी
सचिन वाजेको करिअर भलै अहिले धरमराउन थालेको छ, तर एक समय उनी महाराष्ट्रका सबैभन्दा शक्तिशाली व्यक्ति बाला साहब ठाकरेको निकै निकट भएका थिए। जब सचिन शिवसेनामा सामेल भए, तब पार्टीका मानिसले कुनै अनौठो मानेनन्। वास्तवमा बाला साहब ठाकरेले सार्वजनिक रूपमै सचिनको धेरैपटक प्रशंसा गरिसकेका थिए।

जतिबेला सन् २००४ मार्च ३ मा अदालतको आदेशअनसार सचिन वाजेलाई निलम्बन गरियो त्यसबेलादेखि उनले धेरै वर्ष शिवसेना पार्टीको प्रवक्ताका रूपमा काम गरे। तर अहिले शिवसेनाका नेता सचिन कहिले पनि राजनीतिमा सक्रिय नरहेको दाबी गर्छन्।

स्रोतका अनुसार प्रहरी सेवाबाट निलम्बनमा परेपछि सचिनलाई दुईपटक सन् २००५ र २००७ मा प्रहरी विभागमा फर्काउने प्रयास गरिएको थियो। पूर्व मुख्यमन्त्री देवेन्द्र फडणविसले पनि यो आरोप लगाएका छन्। उनले भनेका छन्, ‘सचिन वाजेलाई पुनर्बहाली गर्न शिवसेनाका नेताले निरन्तर दबाब दिएका थिए।’

सचिनलाई प्रहरी सेवामा यसरी पुनः भित्र्याइयो
जानकारका अनुसार सचिन वाजेलाई २०२० मा पुनः मुम्बई प्रहरीमा फर्काउने निर्णय एक पुनरवलोकन समितिले गरेको हो। जतिबेला भनियो कि कोरोना महामारीका कारण मुम्बई प्रहरी कार्यालयमा प्रहरीको निकै आवश्यकता छ। पुनरवलोकन समितिका प्रमुख परमवीर सिंह थिए। यसपछि वाजेलाई पहिलो नियुक्ति नयागाउँ प्रहरी हेडक्वाटरमा दिइयो। केही दिनपछि उनलाई क्राइम इन्टिलिजेन्स ब्रान्चमा पठाइयो। जहाँ उनलाई टीआरपी, अन्वय नाइक आत्महत्या, स्पोर्ट्स कार घोटालामा दिलीप छाबडियाको मुद्दा र बलिउड टीभी इन्डस्ट्रिजको कास्टिङ काउच रकेटसम्बन्धी मुद्दाको जिम्मेवारी दिइयो।

यस मुद्दामा चाहिँ फसे वाजे
एनआईए स्रोतका अनुसार सचिन वाजेलाई गत फ्रेब्रुअरी २५ का दिन कारमाइकल रोड अर्थात् उद्योगपति मुकेश अम्बानीको घर एन्टिलियानजिक विस्फोटक पदार्थले भरिएको स्कार्पियो गाडी राखिएको घटनामा संलग्न भएको आरोप लागेको छ। स्रोतका अनुसार वाजेलाई आफ्नो संलग्नता स्वीकारसमेत गरिसकेका छन्। तर एनआईएले आधिकारिक घोषणा गरिसकेको छैन। मनसुखकी पत्नीले पनि आफ्ना पतिको हत्यामा सचिनकै हात रहेको आरोप लगाएकी छन्।

२० वर्षदेखि घर गएका छैनन् सचिन वाजे
रोचक कुरा, सचिन वाजेको जन्म महाराष्ट्रको कोल्हापुरमा भएको हो। सन् १९९० अघिसम्म उनी यही सहरमा हुर्के, बढे। सहरको पुरानो शिवाजी पैठ क्षेत्रमा उनको पुख्र्यौली घर छ, जसमा हमेसा ताला लागेको हुन्छ। छिमेकीका अनुसार सचिन २० वर्षयता आफ्नो घर आएका छैनन्।

याे पनि : अम्बानी प्रकरणले तात्तियो महाराष्ट्रको राजनीति, मागियो मुख्यमन्त्रीकै राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad