हाल (सोमबार बिहान) पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि समग्रमा मौसमको अवस्था त्यस्तै रहनेछ। तर पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि छ।
राति भने कर्णाली, गण्डकी र प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा त्यस्तै किसिमको वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भोलि मंगलबार दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। तर पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा हावाहुरीको सम्भावनासमेत औंल्याइएको छ।
चेतावनीमा भनिएको छ : कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया