अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन्। अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो।
पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ। व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताए। धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको उनले बताए।
पहिलापहिला गाउँका एक/दुई जना मात्रै विदेश जाने हुनाले फलानो लाहुरेको घर हो भनेर चिनिन्थ्यो, अहिले धेरै विदेश जान थालेपछि लाहुरे नभएको घर भेटाउनै गाह्रो हुने उनले बताए। व्यास नगरपालिका–११ पोल्याङका उत्तम कैनीले गाउँ पुरुषविहीन बन्दै गएकाले पुरुषले गर्ने सबै कामकाज महिलाले नै गर्दै आएको उनले बताए।
युवाहरु गाउँमा नभएकाले बुढापाका र केटाकेटी धेरै भेटिने गरेको उनले बताए। शुक्लागण्डकी नगरपालिका–६ का बिजय सुनारले विदेश जानको लागि राहदानी लिन आएको बताए।
‘राजनीतिक माहोल ठिक छैन, भ्रष्टाचार रोक्न सकिएको छैन’ सुनारले भने, ‘जागिर खान पनि आफ्नो मान्छे छैनन् एक पटक दुबई गएर आएँ, फेरि विदेश जाने सोचाइ बनाएको छु।’
असली कृषकलाई ऋण तथा अनुदान प्राप्त गर्न कठिन हुने, बिचौलियाले नाफा धेरै खाइदिने उत्पादित वस्तुको बजारको सुनिश्चित नहुने जस्ता समस्या भएकाले युवाको विदेश जान रुचि बढेको उनले बताए। रोजगारीको गन्तव्य विदेश बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय राहदानी बनाउन आउने युवाको भीड बढ्न थालेको छ।
दैनिक ३० देखि ३५ जना राहदानी बनाउन कार्यालयमा आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। दैनिकरुपमा करीब पाँच जना महिला पनि वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेको बरालले बताए।
परामर्श दिने क्रममा राहदानी लिन आउनेमध्ये अधिकांश खाडी मुलकमा काम गर्नका लागि जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस
Shares

प्रतिक्रिया