कास्कीको सेती रिभर साइड रिसोर्टबारे प्रकाशित समाचारको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले पत्रकारलाई धम्की दिएका छन्।
पत्रकार सुमन ढुंगानालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका–३३ वडा समितिका सभापति दिनेश आचार्यले सेती रिभर साइड रिसोर्टको समाचारलाई लिएर पटकपटक सन्देशमार्फत धम्क्याएको नेपाल पत्रकार महासंघ कास्की शाखाले जनाएको छ।
यस्तै, साउन १० गते अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित ‘कालोकोट लगाएर ठगी धन्दा चलाउँदै अधिवक्ता शाही’ शीर्षक समाचारलाई लिएर अधिवक्ता अनिलबहादुर शाही र उनका आफन्तले सो दैनिकका संवाददाता तथा महासंघ कर्णाली प्रदेश समितिका सचिव विस्नप्रसाद न्यौपानेमाथि अपमानजनक भाषा प्रयोग गरी निराधार आरोप लगाउँदै गालीगलौज गरेको महासंघको कालिकोट शाखाले जनाएको छ।
नेपाल पत्रकार महासंघले विज्ञप्ति प्रकाशित गरी दुवै घटनाप्रति आपत्ति जनाएको छ।
‘चित्त नबुझेको समाचारको समाधान कानुनी प्रक्रिया वा प्रचलित विधिबाट नखोजी पत्रकारमाथि भएको यस किसिमको व्यवहार अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी रहेको महासंघ ठान्दछ’ महासंघका महासचिव रामप्रसाद दाहालले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्।
महासंघले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र निर्भीक रुपमा संविधानप्रदत्त अधिकार उपभोगको वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ।
Shares

प्रतिक्रिया