जुवातास खेलाएको रकम गाडीमा लिएर बालकोटतर्फ जाँदै गरेका चालक पक्राउ परेका छन्।
बा २१ च ३८३९ नम्बरको निलो रंगको कारमा रकम लिएर पेप्सिकोलाबाट बालकोट जाँदै गरेका कारका चालक दोलखाको बैतेश्वरका बिनोद तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरीले घेरा हालेर उनलाई काठमाडौंको पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको अवस्थामा बुधबार राति पक्राउ गरेको भक्तपुरका डीएसपी दीपक गिरीले बताए।
गाडीको पछाडिको डिक्कीमा छरपष्ट अवस्थामा हजार, पाँच सय र एक सय दरका नेपाली रुपैयाँका बिटाहरु फेला परेका थिए।
उक्त कारमा २७ लाख रुपैयाँ फेला परेको र चालक तामाङले त्यो रकम अर्कैको भएको बताएका थिए।
तामाङले उक्त रकम दोलखा घर भई भक्तपुरको बालकोट बस्ने सुमन घिमिरेले घरमा पु¥याउन लागेको बताएका थिए।
उक्त सूचनापछि प्रहरीले सुमन घिमिरेको खोजतलास गर्दा काठमाडौँ महानगरपालिका पेप्सीकोलामा फेला पारेको थियो। सोधपुछका क्रममा उनले त्यो रकम आफ्नो भएको स्वीकार गरेका थिए।
घिमिरे बस्ने बालकोटस्थित कोठामा समेत प्रहरीले खानतलासी गर्दा १५ लाख ३० हजार रुपैयाँ फेला परेको छ। उनको कोठामा विभिन्न बैंकका चेकहरु समेत बरामद भएको प्रहरीले जनाएको छ।
२ लाख ५० हजार रुपैयाँको राष्ट्रिय बाणिज्य बैंकको चेक, ९ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक, १ लाख २५ हजार रुपैयाँको स्ट्यान्डर चार्टर बैंकको चेक, ९ लाख ९९ हजार रुपैयाँको नेपाल बैंकको चेक, १५ लाख रुपैयाँको महालक्ष्मी विकास बैंकको चेक बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका घिमिरे र तामाङलाई शुक्रबार थप अनुसन्धान तथा कारवाहीका लागि सम्पति शुद्धीकरण विभाग पुल्चोक पठाइएको छ।
घिमिरे यसअघि पनि विभिन्न मुद्दामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।
२०७४ कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगन्ज र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्गमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा घिमिरेविरुद्ध मुद्दा दर्ता भएको छ।
२०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धबाट बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भई पटके तथा फरारसमेत रहेको अनुसन्धानका क्रममा खुल्न आएको भक्तपुर प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया