मेलम्ची खोलाबाट २६.५ किलोमिटर लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानीको बहाव बढेको छ।
मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी वाग्मतीमा हालेपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ।
नदीमा जमेको कालो लेदो वाग्मतीमा बहाव बढेपछि बगाएको देखिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिए। वाग्मतीमा मेलम्चीको पानी हालेपछि बहाव बढेको देखिए पनि नदीको चौडाइ फराकिलो भएको स्थानमा भने ढाकिएको छैन।
यही फागुन २६ गतेदेखि मेलम्चीको पानी बहाव बढाएर पशुपतिसम्म स्वच्छ बनाउने योजना रहेको प्रधामन्त्री ओलीले कार्यक्रममा सुनाएका थिए। सुरुङ नभरिएसम्म पानी नबढाइने मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर बर्मलाल राजभण्डारीले जानकारी दिए।
वर्षामा आकाशको पानीले वाग्मती भरिने गरे पनि हिउँदमा नदी कुलोमा सीमित हुन्छ। सुन्दरीलबाट उपत्यकामा खानेपानी ल्याइएपछि वाग्मतीमा थोरै पानी बग्ने गरेको छ। हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन। नदी सफा बनाउन पानीको बहाव बढाइनुपर्ने आवाज उठे पनि पूरा हुन सकेको छैन। रासस
Shares

प्रतिक्रिया