समाज


त्रिशूली बस दुर्घटना अपडेट : ९ शव भेटियो, २१ यात्रु अझै बेपत्ता

त्रिशूली बस दुर्घटना अपडेट : ९ शव भेटियो, २१ यात्रु अझै बेपत्ता

नेपालखबर
साउन २५, २०७६ शनिबार ४:५,

सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएकामध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ। अझै २० भन्दा बढी यात्रु नदीमा बेपत्ता छन्।

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले शनिबार बिहान सवा ९ बजे दिएको जानकारीअनुसार दुर्घटनामा परेकामध्ये ९ जनाको शव फेला परेको हो।

बसमा ४५ जना रहेका आधारमा अझै २१ यात्रु हराइरहेकाले खोजी भइरहेको उनले बताए। 

मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको छ।

भारतीय नागरिक अजय दास, विजय कुर्मी, बसका कन्डक्टर ऋषि उप्रेतीको शव पहिचान भएकाे हाे। 

यसपछि कृष्णभीरनजिक फेला परेका २ शव सर्लाहीको मलंगवा १ का ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीया निमाको भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट हिजो शुक्रबार बिहान सवा ३ बजेतिर त्रिशूली नदीमा खसेको हो।

सर्लाहीको सदरमुकामबाट ४० यात्रु, सर्लाहीकै हरिपुरबाट थप २ जना चढेको र गाडीका कर्मचारी ३ जना गरी बसमा ४५ यात्रु रहेको बताइएको छ।

‘४५ लाई आधार मान्दा २१ जना बेपत्ता छन्,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले नेपालखबरसँग भने, ‘अब बीचमा झरेका वा चढेका कति थिए, बालबच्चा पनि थिए भन्ने कुरा पनि आएको छ, त्यस्तो हो भने त घटबढ पनि हुने भो।’

दुर्घटनामा परेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सर्लाहीका भूपेन्द्रकुमार यादव, अनिस राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा र सञ्जय महतो छन् । जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर र भोगेन्द्र चौधरीको पनि जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेलाई राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा प्रारम्भिक उपचार गरी काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएकाे छ।

‘खोजी जारी छ, चितवन, नवलपरासीदेखि इन्डियाको बोर्डरसम्मै खोजी गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘गोताखोर टोली तथा जनपथ, सशस्त्र प्रहरीको टोली मोटरसाइकलमा परिचालन गरेका छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad