करिब ९० प्रतिशत सर्पदंश विषालु सर्पले गरेका हुँदैनन्। बाँकी १० प्रतिशत विषालु सर्पले टोके पनि सबैले आफ्नो विष मानिसको शरीरमा छोडेका हुँदैनन् ।
तर अधिकांश सर्पदंशपछि विषले भन्दा पनि आँत्तिएर मानिसको मृत्यु हुने गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्राडा सञ्जीवकुमार शर्मा भन्छन्, ‘त्यसैले सर्पदंशपछि विष नै लाग्ने सम्भावना न्यून हुने भएकाले आत्मविश्वास कायम राख्दै तुरुन्त अस्पताल पुग्नुपर्छ।’
अझ यदि तपाईंलाइ विषालु सर्पले ने टोकेको भए पनि यो सुक्खा डसाइसमेत हुन सक्ने कुरा बिर्सनु हुन्न । मुलुकमा ८९ प्रजातिका सर्प पाइने गरे पनि यसमध्ये करिब १८ देखि २० प्रतिशत मात्र विषालु हुन्छन्।
तर सर्पको टोकाइ विषालु हो वा होइन भन्ने कुरा छुट्ट्याउन न लागि तुरुन्त अस्पताल पुगेर उचित उपचार प्रक्रिया सुरु गर्नुपर्ने जनाउँदै डा.शर्मा भन्छन्, ‘लक्षण नदेखिँदासम्म सर्पको टोकाइ विषालु वा विषरहित हो भन्ने कुरा छुट्ट्याउन अत्यन्त गाह्रो भएकाले यसलाई प्रशिक्षित स्वास्थ्यकर्मीकै जिम्मामा छाड्नु बुद्घिमानी हुन्छ।’
यसैले होला, प्रसिद्ध सर्प विशेषज्ञ रोम्युलेस ब्हिटेकरले भारतीय सञ्चारमाध्यममा दिएको एउटा अन्तरवार्तामा भनेका छन्– ‘सर्प जति चाहन्छ त्यति विषको मात्रा शरीरमा छोड्न सक्छ । र यो पूर्ण रूपमा ऐच्छिक क्रिया हो।’
उनले भनेका थिए– ‘हजारौं पटक मैले सर्पको विष निकालेर यो सिकेको छु कि, कहिलेकाहीं सर्पले अलिकति पनि विष छोड्दैन । तर सर्पद्वारा कति विष छोडियो, यो कुरा मात्र सर्पदंशको लक्षणको प्रगति देखेर नै थाहा पाइन्छ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट प्रकाशित ‘गाइडलाइन्स फर द म्यानेजमेन्ट अफ स्नेक बाइट’ मा उल्लेख भएअनुसार केही मात्रामा विषालु सर्पको टोकाइले शरीरमा रासायनिक प्रभाव उत्पन्न हुने मात्रामा विष छोड्न सक्दैन।
उक्त पुस्तकअनुसार गोमन सर्पको ३० प्रतिशत टोकाइ, मलयन पिट भाइपर र रसेल्स भाइपरको ५० प्रतिशत टोकाइ र साउ स्केल्ड भाइपरको ५ देखि १० प्रतिशत टोकाइले शरीरमा कुनै पनि प्रकारको विषको लक्षण उत्पन्न हुँदैन । हमला गरेर टोके पनि सर्पले आफूसँग संरक्षित राखेको विष शरीरमा हाल्न सक्दैन।
सर्पदंशपीडितका लागि हरेक बित्ने सेकेन्डको समय अत्यन्त महत्त्वपूर्ण हुने भएकाले अत्यन्त छिटो अस्पताल पुर्याउने व्यवस्था गर्नुपर्छ । अस्ट्रेलियन भेनम रिसर्च युनिटका प्रमुख प्रा.डेबिड विलियमका अनुसार सर्पदंशका प्रभावितलाई तुरुन्त मोटरसाइलबाट अस्पताल पुर्याउनुपर्छ ।
डा. डेबिडका अनुसार मोटरसाइकल, एम्बुलेन्सका माध्यमले उपचार गर्न स्वास्थ्य निकायमा लग्ने नेपालबाट सुरु गरिएको प्रयास अत्यन्त प्रभावकारी रहेको र अन्य मुलुकमा समेत अपनाउन थालिएको छ।
यस्तै, झुलभित्र चारैतिर राम्ररी थिचेर सुत्नुले मधेसतिर करेतको डसाइबाट जोगिने सर्वोत्तम उपाय हो । नेपालमा सुरु गरिएको प्रयासलाई सुनाएर अफ्रिकाका औलो विज्ञहरूले कोब्रा सर्प भएको ठाउँमा त्यहाँका स्थानीयलाई झुलभित्र सुत्न प्रेरित गर्ने गरेको डा.डेबिडले बताए।
अध्ययनहरूका अनुसार भुइँमा सुत्नुले सर्पदंशको जोखिम बढाउँछ भने खाटमा झुलभित्र सुत्ने गर्दा विषालु सर्पको टोकाइको जोखिम घट्छ।
मुलुकमा सन् २०१९ देखि ४ वर्षका लागि सुरु गरिएको सर्पदंश अध्ययनको प्रारम्भिक नतिजाअनुसार तराई क्षेत्रमा बर्सेनि ४० हजारलाई सर्पले डस्ने गरेको छ।
बर्सेनि सर्पदंशमा पर्ने गरेका ४० हजार जनामध्ये १५ वर्षमुनिका बालबालिकाको संख्या २२ प्रतिशत छ । अर्थात् सर्प डसाइमा पर्ने हरेक ५ जनामा एकजना बालबालिका छन्।
डा.शर्माका अनुसार उक्त अध्ययनको प्रारम्भिक नतिजाअनुसार तराई क्षेत्रमा सर्पको टोकाइले हुने मृत्यु दर प्रतिएक लाख जनसंख्या बर्सेनि २०.४ जना रहेको छ । यस्तै सर्पको विष लागेर अस्पताल आएकाहरूमध्ये १२ प्रतिशतलाई कृत्रिम श्वासप्रश्वास प्रक्रियामा राख्नुपरेको समेत अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आँकलनअनुसार विश्वभरि बर्सेनि ५४ लाख व्यक्तिलाई सर्पले टोक्ने गरेको छ । यसमध्ये अधिकांश पीडित दक्षिण–पूर्व एसिया र अफ्रिकाका छन्।
सम्पूर्ण टोकाइमध्ये करिब २७ लाख विषालु सर्पको डसाइ हुन्छ । बर्सेनि विषालु सर्पको टोकाइले एक लाख ३८ हजारसम्म मृत्यु हुन्छ भने करिब चार लाख व्यक्तिको अंग काट्नुपर्नेलगायत अन्य शारीरिक समस्या देखिने गरिएको डब्लूएचओले उल्लेख गरेको छ।
मधेसमा पाइने सर्प
मधेसमा मुख्यतः विषालु सर्पको रूपमा गोमन करेतले टोक्ने गरेको छ । उसो त बाधे सर्प (रसेल भाइपर) को टोकाइसमेत देखिने गर्छ । गोमन, करेतले टोक्दा यसको विषले हाम्रो स्नायु प्रणालीमा असर पार्छ । यो विषले बिरामीको मांशपेशीको पक्षाघात हुन्छ । यहि पक्षघातले सास थुनिएर बिरामीको मृत्यु हुने गर्छ।
गोमनले स्नायु तन्त्रमा असर गर्नुको साथै टोकेको ठाउँमा समेत कुहिने र सुन्निने हुन सक्छ । बाधे सर्पले शरीरको रगतलाई पातलो बनाउँछ । यसको डसाइमा परेकाहरूको शरीरमा जताततैबाट रगत बगेर मृत्युसमेत हुन सक्छ । बाधे सर्पले टोकेको ठाउँमा समेत सुन्निने र कुहिने हुन सक्छ।
पहाडमा पाइने सर्प
पहाडमा मुख्यतः हरेउ प्रजातिको सर्प पाइन्छ । हिमालयन करेत ४ हजार मिटरसम्मको उचाइमा पाइन्छ । उसो त पहाडमा माउन्टेन पिट भाइपरसमेत पाइन्छ । हरेउले डसेको ठाउँमा सुन्निने र कुहिने समस्या देखिन्छ, यसले स्नायु तन्त्रमा असर पार्दैन।
गोमन, करेतले डस्दा
गोमन सर्पले डस्दा करिब आधा घण्टादेखि नै विषको असर गर्न सुरु हुन सक्छ भने यो असर देखिन क्रम ४ घण्टासम्म हुन सक्छ।
करेतले डस्दा विषको असर २–४ घण्टासम्ममा देखिन सक्छ । करेतले सुतेको ठाउँमा राति डस्ने गरेको छ । यसैले डसाइबारे भन्न गाह्रो हुने वा नबुझ्ने, अस्पताल लैजान गाह्रो हुने आदिले गर्दा बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ । गोमन करेतले डस्दा अस्पताल पुग्नुअगावै करिब ८० प्रतिशत विष लागेका बिरामीको मृत्यु हुने गरेको देखिएको छ।
अस्पताल पुगेका गोमन र करेतको विष लागेको व्यक्तिलाई उपचार गर्दा पनि १४ देखि १५ प्रतिशतसम्म मृत्यु भएको देखिएको छ।
‘अस्पतालमा उपचार सुरु गरे पनि १५ प्रतिशतसम्म मृत्यु हुनुको मुख्य कारण ढिलो बिरामी अस्पताल पुग्नु र स्वास्थ्य संस्थामा कृत्रिम श्वासप्रश्वासको व्यवस्था नहुन हो,’ डा.शर्माका अनुसार अझ करेतको डसाइमा एन्टिभेनमले राम्ररी काम नगर्नुसमेत उपचार प्रक्रियामा आए पनि मृत्यु हुने प्रमुख कारण हो।
गोमन र करेतले टोक्दा देखिने लक्षण
करेत र गोमनले टोक्दा यसको विषाक्तताले स्नायुघात हुन सक्छ । यस्ता बिरामी हेर्न नसक्ने, आँखा खोल्न नसक्ने हुन सक्छ। यस्तै मुख खोल्न नसक्नुको साथै उसले मुखबाट जिब्रो बाहिरसमेत निकाल्न सक्दैन।
यति मात्र नभई सर्पदंश भएकाहरूमा निल्न नसक्नु, सास फेर्न गाह्रो हुनु, हातगोडाको मांशपेशी नचल्नु लगायतका लक्षण देखिने गरिएको छ।
विषालु सर्प टोकेपछि देखिने लक्षण
सर्प टोकेको ठाउँको छालाको रंग रातो हुन्छ त्यो ठाउँ सुन्निएको जस्तो लाग्न थाल्छ र तीव्र दुखाइ अनुभव हुन्छ।
विषाक्त सर्प टोक्नाले सास फेर्नमा असजिलो हुन लाग्छ, दृष्टि कमजोर हुन्छ र आँखा अगाडि धमिलो देखिन्छ । पीडित व्यक्तिलाई वाकवाकी लाग्नु, वान्ता हुनु, मुखबाट र्याल आउनु र छालाबाट अत्यधिक पसिना बग्न थाल्छ।
विषालु सर्पले टोक्दा हातखुट्टा झमझम गर्न थाल्छ, विस्तारै हातखुट्टा संवेदनहीन हुन थाल्छ, पक्षाघातको लक्षण देखिन थाल्छ, स्वर टुक्रिन थाल्छ, आँखा खोल्न सक्दैन र कुनै पनि वस्तुलाई निल्न असजिलो हुन्छ । विस्तारैविस्तारै यो लक्षण बढ्न थाल्छ र मांशपेशीमा कमजोरी भएर ओठ र जिब्रो नीलो हुन थाल्छ।
टोकाइको उपचार
गोमन र करेतको उपचार २ प्रकारले गरिन्छ । विष प्रभावित व्यक्तिलाई समयमै विष झार्ने औषधि अर्थात् एन्टिभेनम दिइन्छ । यो विष झार्ने औषधि समयमै नपाइए वा ढिलो पाइए बिरामीको सास रोकिने सम्भावना हुन्छ।
त्यति खेर कृत्रिम श्वासप्रश्वास दिनु आवश्यक हुन्छ । यसका लागि भेन्टिलेटरको सुविधासहितको अस्पताल भए उपचार गर्न झन् सजिलो हुन्छ । तर भेन्टिलेटर नहुने ठाउँमा मुखबाट सासनलीमा पाइपहालेर एम्बु ब्यागका माध्यमले सास दिने प्रक्रिया जारी राखेर बिरामीलाई जोगाउन सकिनेडा।शर्मा बताउँछन्।
बाधे सर्पको डसाइको उपचार
यो सर्पले डस्दासमेत एन्टिभेनम नै मुख्य उपचार हो । तर कसै कसैलाई एक्कासिकिड्नी फेल (एक्यिुट किड्नी इन्ज्युरी) हुन सक्ने औंल्याउँदै डा.शर्माले यस्तो स्थितिमा केही निश्चित अवधिका लागि डायलासिस आवश्यक पर्ने बताउँछन् ।
सर्पले टोकेमा
प्राथमिक उपचारमा समय खेर नफालौं।
परम्परागत प्राथमिक उपचारले फाइदाको सट्टा नोक्सान बढी गर्छ।
बिरामीको आत्मविश्वास कायम राख्नोस्।
जतिसक्दो चाँडो अस्पताल पुर्याउनुस्।
झारफुक, धामीझाँक्रीमा भर नपरौं।
सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने नगरौं।
साह्रो बाँध्दा अंग कुहिने सम्भावना हुन्छ।
बिरामीलाई सान्त्वना दिऔं।

प्रतिक्रिया