समाज


पत्रकार पुडासैनीको रहस्यमय मृत्युः अनुसन्धान राडारमा ‘सिधाकुरा जनतासँग’

पत्रकार पुडासैनीको रहस्यमय मृत्युः अनुसन्धान राडारमा ‘सिधाकुरा जनतासँग’

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १३:५०,

कुनै बेला पत्रकार शालिकराम पुडासैनी रवि लामिछाने सञ्चालक रहेको न्युज २४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’का महत्वपूर्ण टोली सदस्य थिए। उनी अनियमितता उधिन्थे, भ्रष्टाचार उजागर गर्थे। त्यो क्रममा रविसँगको सहकार्यमा उनले धेरै कानुनविपरित काम खुलासा गरे। कैयौंलाई कानुनी कारवाहीको बाटो देखाए।

करिब दुई महिनाअघि माउन्टेन टेलिभिजनमा जान उनले त्यो चर्चित कार्यक्रम छोडे। नयाँ ठाउँमा पनि उनको जिम्मेवारी पहिलाजस्तै खोजी पत्रकारिता किसिमकै थियो। त्यहाँ उनी ‘मिसन न्युज’ चलाउथे।

उनै पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० मा चितवनको होटल कंगारु कोठा नं. २०२ मा मृत भेटिए। त्यो मृत्यु स्वभाविक देखिँदैन। कुनैबेला रहस्य र सनसनीपूर्ण खोजको पर्दाफास गर्ने शालिकरामको मृत्यु आफैँ रहस्यको विषय बनेको छ। प्रहरीसहित सरकारी निकाय उनको अस्वभाविक मृत्युको पर्दा उघार्न काम गरिरहेका छन्।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु कुनैबेला उनैले काम गरेको कार्यक्रम ‘सिधाकुरा जनता’सँग उनको मृत्युको कारण जोडिएको बताउँछन्। 

‘आत्महत्या हो कि हत्या भन्ने निक्र्यौल पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुन्छ,’ चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल नेपालखबरसँग भन्छन्, ‘उहाँ (शालिकराम) को मोबाइल परीक्षणका लागि काठमाडौं पठाएका छौं। त्यो सबैको ल्याब टेस्ट भइसकेपछि थप कुरा खुल्नेछ।’

एसपी मल्लले शालिकरामको साथबाट अन्य थप सामाग्री समेत बरामद भएको जानकारी दिए। उनकाअनुसार शालिकरामको मोबाइलमा केही विषय भेटिएका छन्। तिनलाई गोप्य राखेर प्रहरी अनुसन्धान भइरहेको हो।

मोबाइलमा रहेको भिडियोमार्फत् शालिकरामले आफ्नो मृत्युको रहस्यबारे बोलेको चर्चाहरु छन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु समेत यही बताउँछन्। भिडियोमा उनले मृत्युको कारक बनेका व्यक्तिहरुबारे समेत खुलाएका छन्। एसपी मल्लको भनाइले पनि सो कुराले पुष्टि गर्छ।

‘मोबाइलमा केही विषयहरु भेटिएका छन्। त्यसअनुसार अनुसन्धान भइरहेको छ। ती व्यक्ति, विषय र मोबाइलको वैज्ञानिक र प्राविधिक जाँचपछि मात्र विस्तृत कुरा आउँछ’, एसपी मल्ल भन्छन्।

शालिकरामको मृत्युको पछाडि ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने र निर्माता दीपक बोहराको नाम जोडेर चर्चा भइरहेको छ। स्थिति निकै असहज बन्दै गएपछि बुधबार लामिछानेले फेसबुकबाट एउटा प्रत्यक्ष भिडियो सन्देश नै दिए। त्यसमा उनले विभिन्न सञ्चार माध्यममा आएका समाचारहरुको खण्डन गरेका छन्।

२१ मिनेट ३६ सेकेण्ड लामो भिडियोमा उनले शालिकराम आफूहरुको टिमबाट हाँसीखुसी बिदा भएको र उनको मृत्युले आफूसहित सिधाकुरा टिम दुःखी रहेको उल्लेख गरेका छन्।

‘शालिकराम एकजना युवतीसँग सम्बन्धमा थिए। उनलाई ती युवतीले केही बिषयलाई लिएर निरन्तर तनाब दिइरहेकी थिइन्’, रविले भिडियोमा भनेका छन्।

‘केही विषयहरु हामीसँग प्रमाण सुरक्षित छन्,’ लामिछानेले भिडियोमा भनेका छन् ‘त्यही विषयका कारण उनले आत्महत्या गरेको हुनसक्छ।’  ती प्रमाण के हुन् र त्यो सम्बन्ध के हो भन्नेबारे उनले सार्वजनिक गरेका छैनन्।

‘सिधाकुरा जनतासँग’का निर्माता दीपक बोहरा आफ्नै टिममा काम गरेका शालिकरामले अरुले भनेका विषय पत्याउँदा घटना भएको अनुमान गर्छन्। सँगै काम गरेको साथी भए पनि अप्ठ्यारो पर्दा हामीलाई एक कल फोन नगरेकोमा उनले दुःख व्यक्त गरे।

‘कसैले धम्काएको हो कि भन्ने आशंका छ,’ बोहरा भन्छन्,‘यो विषयमा मलाई एक कल फोन गरेको भए सबै छर्लङ हुने थियो।’ 

सोमबार कंगारु होटलमा बस्नु अघि शालिकराम अन्य होटलमा समेत गएका थिए। उनी कोठा खोज्नका लागि गएको प्रारम्भिक सोधपुछबाट खुलेको छ। घटनाका विषयमा चितवन प्रहरीले शालिकरामको कल डिटेल समेत लिएर थप अनुसन्धान गरिरहेको छ।

घटना भएको दिन शालिकराम बिहान करिब साढे दुई बजे कोठामा पसेका थिए। उनी लामो समय बाहिर नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले उनी बसेको कोठाको ढोका फुटाएर हेर्दा उनी पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर सोही राती परिवारका सदस्यलाई खबर गरेको थियो।

प्रहरीले विस्तृत परिक्षणका लागि आवश्यक नमूना राखेर शब परिवारको जिम्मा लगाएको थियो। शालिकरामको बुधबार काठमाडौं आर्यघाटमा अन्त्येष्टी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .