चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र रहेको ‘ध्रुवे’ हात्तीले विगत लामो समयदेखि आसपासका मानव बस्ती र निकुञ्ज प्रशासनका साथै सरकार र समाजलाई झस्काएको छ।
असार २० गते राति ध्रुवे हात्तीको आक्रमणबाट दुई जना स्थानीयले ज्यान गुमाएपछि पश्चिम चितवन फेरि एकपटक त्रासको भुमरीमा पर्यो । लगत्तै फेरि पनि आसपासका घरमा जाने, भत्काउने र पटकपटक बस्तीमा पस्न थालेपछि त्रसित र आक्रोशित स्थानीयको माग थियो, ‘ध्रुवेको आतङ्क कहिलेसम्म?’
पर्दा पछाडि निकुञ्ज प्रशासन, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको एउटा टोली बाढी, झरी र बढेको झाडीको वास्ता नगरी निकुञ्जको कोर क्षेत्रमा एउटा अदृश्य लक्ष्यमा जुटिरहेको थियो । तीन सिफ्ट (पालो)मा विभाजित भएर १० दिनसम्म गरिएको अथक प्रयासपछि असार ३१ गते राति १०ः३० बजे टोलीले ध्रुवेलाई सुखीभार क्षेत्रबाट नियन्त्रणमा लियो।
यो केबल एउटा हात्ती नियन्त्रणको कथा मात्र होइन, यसपटक यसको जैविक रिस शान्त पार्ने र प्रविधिको उच्चतम् प्रयोग गर्ने एउटा जटिल ‘मेडिकल अपरेसन’ पनि थियो।
जङ्गलभित्रको त्यो कठिन खोज र ध्रुवेको जैविक ‘रिस’
असार २० को घटनालगत्तै प्राविधिक टोलीले ध्रुवेको खोजी तीव्र बनाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार वर्षाको मौसम र बढेको झाडीका कारण खोजी निकै असहज र चुनौतीपूर्ण बनेको थियो।
उनले अभियानको सफलता र प्रविधिको सुरुआतबारे भने, ‘हाम्रो संयुक्त टोलीले तीन सिफ्ट गरेर दुई वटा टोली परिचालन गरेका थियौँ । बुधबारमात्रै निकुञ्जको कोर क्षेत्र सुखीभार पोष्टको २०० मिटर पूर्वक्षेत्रमा त्यसलाई ‘डार्ट’गरेर बेहोस बनाई ‘स्याटेलाइट कलर’ राख्न सफल भएका छौँ । यो स्याटेलाइट कलर पहिलेकोभन्दा अलिकति आधुनिक छ।’
विगत २५ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषमा भेटेरिनरी प्राविधिकका रूपमा कार्यरत किरणराज रिजालका अनुसार जङ्गलको यो महाबलीलाई नियन्त्रणमा लिनु प्राविधिक रूपमा निकै चुनौतीपूर्ण थियो।
उनले भने, ‘हामीलाई हात्तीको पहिचान गर्न र नियन्त्रणमा लिन एकदम गाह्रो छ । जङ्गलमा देख्नेबित्तिकै हामी डार्ट गर्न सक्दैनौँ, किनभने हाम्रो डार्टले २५ देखि ३० मिटरभन्दा बढी काम गर्दैन । हात्तीलाई झुक्याएर हामीले ल्याएको मार्गमा आएपछि मात्र डार्ट गर्न सम्भव हुन्छ।’
हात्तीलाई लठ्याउने र बेहोस बनाउने काम निकै सावधानीपूर्वक रहेको भन्दै रिजालले यो काम दुई चरणमा गरिएको जानकारी दिए।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले रातको घटनाक्रमका बारेमा भने, ‘हामीले ध्रुर्वे हात्तीलाई कसरी डार्ट गर्न सकिन्छ, यसको नियन्त्रण र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा निरन्तर लागिपरेका थियौँ । असार ३१ गतेको बेलुकी साँझ ७ः०० बजेतिर एउटा लठ्याउने औषधि ‘जाइलाजिन’ दियौँ । औषधि दिएर हात्ती त्यहाँ लठ्ठिएर बसिरहेको अवस्था थियो । त्यसपछि हामीले अर्को बेहोस बनाउने औषधि ‘जनरल एनेस्थेसिया एम९९’ दियौँ र बेहोस भएपछि ९ः३० बजेदेखि काम सुरु गरेर १०ः ३० बजेतिर रेडियो कलर लगाउन सफल भइयो।’
उक्त रात औषधि दिइसकेपछिको शारीरिक जोखिम र नियन्त्रणको पाटोबारे प्राविधिक रिजालले थपे, ‘करिब ७ः३० बजे हामीले डार्ट ग¥यौँ, जसले हात्तीलाई झुम्म बनाई खुट्टा चलाउन नसक्ने बनाउँछ । हात्ती उभिएपछि ९ः ३० बजे पूर्ण बेहोस बनाउने ‘एम–९९’ औषधि दियौँ, जसको १० मिनेटमा हात्ती ढल्यो । हात्ती ठूलो जनावर भएकाले लड्ने क्रममा पेटले फोक्सो थिचेर क्षति हुने डर हुन्छ, तर ध्रुवे सहिजै लड्यो।’
प्राविधिक टोलीले केबल ४० मिनेटभित्र कलर जडान, दाह्रा काट्ने र औषधोपचारको काम सकेर अन्य थप औषधि दिएको पाँच मिनेटमा ध्रुवे सकुशल उठेर जङ्गलतर्फ लागेको रिजालले जानकारी दिए।
वैज्ञानिक तथ्यहरूका अनुसार हात्तीले मान्छेलाई आक्रमण गर्नु केबल उसको स्वभाव मात्र होइन, बरु यो उसको जैविक र शारीरिक हार्मोनसँग जोडिएको विषय हो । सूचना अधिकारी थापामगरका अनुसार हात्ती एउटा सामाजिक प्राणी हो, तर समूहबाट छुट्टिएका कतिपय मत्तहात्तीहरू मस्त वा मत्त चढेका बेला उग्र हुने गर्दछन् । गाउँबस्तीमा धान र भेलीजस्ता बाली खान आउँदा मानिससँग जम्काभेट वा प्रतिकार हुँदा रिसको भाव जागृत भई क्षति पुर्याउने गर्छ।
यही मत्त हुने शारीरिक हर्मोनलाई नियन्त्रण गर्न यसपटक प्राविधिक टोलीले विशेष औषधि प्रयोग गरेको छ । प्राविधिक रिजालले भने, ‘यसपटक हामीले डार्ट गरेर उसको त्यो ‘मस्त’ हुने हर्मोनलाई कम गर्ने ‘जीएनआरएच एनालग’ औषधि पनि लगाएका छौँ । यसपटक उसलाई सामान्य व्यवहारमा ल्याउन र जङ्गलमै चर्न मद्दत गर्नेछ । यो औषधिको प्रभाव ७२ घण्टापछि सुरु हुन्छ र करिब डेढ महिनासम्म रहन्छ।’
दाह्रा काटिनुको रहस्य : ‘जियो फेन्सिङ’ प्रविधि र सहअस्तित्व
यसपटक ध्रुवेको दाह्रा पनि छ इन्च काटिएको प्राविधिक रिजालले जानकारी दिए। दाह्रा काट्दा हात्तीको शारीरिक अवस्थामा कुनै असर नपर्ने वैज्ञानिक तथ्य रहेको छ।
सूचना अधिकारी थापामगरले भने, ‘२०८० सालमा पनि यसको दाह्रा काटिएको थियो । अहिले केही बढेको देखिएकाले छ इन्च मात्रै काटेका छौँ । यसले भौतिक संरचनामा क्षति पु¥याउन कम गर्ने र यसको रिसको प्रकृतिमा पनि केही परिवर्तन आउने अनुमान छ । पछिल्लो विवरणअनुसार ध्रुवे हात्ती सेरीतालतिर रहेको देखिएको छ।’
दाह्रा काट्नुको पछाडि मनोवैज्ञानिक कारण रहेको प्रष्ट पार्दै प्राविधिक रिजालले भने, ‘दाह्रा काटिदिएपछि हात्तीको मनोबल घट्छ र म त कमजोर भएछु भन्ने परेर बस्तीमा नआओस् भन्ने हाम्रो उद्देश्य हो।’
त्यस्तै, यसपटक ध्रुवेको घाँटीमा जडान गरिएको स्याटेलाइट रेडियो कलर पहिलेको भन्दा निकै अत्याधुनिक छ।
यो नयाँ प्रविधिको विशेषता र काम गर्ने शैलीबारे सूचना अधिकारी मगरले भने, ‘यसलाई हामीले कति समयको अन्तरालमा तथ्याङ्क लिने भनेर निर्धारण गर्न सक्छौँ । अन्तराल जति छोटो राख्यो, ब्याट्रीको खपत त्यति बढी हुन्छ । त्यसैले भित्र कोर क्षेत्रमा हुँदा लामो र बाहिर निस्कँदा छोटो अन्तराल राख्न सकिन्छ । नक्सामा रेखाङ्कन गर्ने ‘जियो फेन्सिङ’ प्रविधिमार्फत हात्तीले त्यो रेखा काट्नेबित्तिकै हामीलाई सन्देश आउँछ । यसले गर्दा हात्ती मानव बस्तीमा छिर्न लागेमा विगतको भन्दा छिटो थाहा पाउन सकिन्छ।’
नयाँ प्रविधिले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र उद्दार टोली परिचालनमा खेल्ने भूमिकाबारे प्रमुख संरक्षण अधिकृत पुर्जापुनले भने, ‘ध्रुर्वेमा जडित रेडियो कलरले समयसमयमा, १०–१० मिनेटको फरकमा हामीकहाँ सूचना पठाउँछ र हामीले त्यो पठाएको सूचना हेरिरहेका छौँ । अहिले हात्ती सुखीभारबाट एक–एक दशमलव पाँच किलोमिटर पूर्व–उत्तरतिर रहेको देखिएको छ । यो यदि मध्यवर्ती क्षेत्रमा गयो भने हामी कहाँ एउटा सन्देश आउँछ । उक्त सन्देश प्राप्त भइसकेपछि हामीले स्थानीयलाई सूचना दिनेदेखि लिएर हामी पनि उद्दारमा हुने काम गर्छौं र थप क्षति हुन दिने छैनौँ।’
स्थानीय बासिन्दाको आक्रोश र निकुञ्ज प्रशासनमाथि उठेका प्रश्नहरूबारे प्रमुख संरक्षण अधिकृत पुनले थप प्रष्ट पार्दै भने, ‘एक किसिमले हामीलाई एउटा चुनौती थियो । स्थानीय जनताले निकुञ्ज प्रशासन र सेनासहितको टोलीले काम गरेन भन्नुभएको थियो । तर हामीले भित्रभित्र काम गरिराखेका थियौँ । हात्तीलाई भित्र धेरै पटक देखेका थियौँ । व्यवस्थापन गर्न ठीक डार्ट टोली र प्राविधिक टोलीले उपयुक्त ठाउँमा भेट्न पथ्र्यो र त्यो उपयुक्त ठाउँको खोजीमा थियौँ । हिजो सुखीभारमा आइसकेपछि काम गर्न सफल भइयो।’
निकुञ्ज प्रशासनले आफ्नो शतप्रतिशत क्षमता लगाएर काम गरिरहेको अवस्थामा मानव र वन्यजन्तुबीचको द्वन्द्व पूर्ण रूपमा कम गर्न स्थानीयको सहयोग र सचेतता उत्तिकै आवश्यक रहेको अधिकारीहरूको भनाइ छ।
ध्रुवेको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको यो चौथो पटक हो । पहिलो पटक २०६६ मङ्सिरमा मानिस मारेपछि यो हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको निकुञ्ज प्रशासनले जनाएको छ । यसअघि प्रत्येक एक घण्टाको फरकमा भौगोलिक अवस्थाका बारेमा विवरण प्राप्त हुने गरेकामा अब १५–१५ मिनेटको छोटो अन्तरालमा ध्रुवे रहेको स्थानको विवरण प्राप्त हुने प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिए।
यो अत्याधुनिक प्रविधिको पहरेदारी र जैविक उपचारले ध्रुवेलाई जङ्गलभित्रै सीमित राख्न र पश्चिम चितवनवासीलाई त्रासदीबाट मुक्त गरी मानव–वन्यजन्तुबिच सुरक्षित सहअस्तित्व कायम गर्न महत्त्वपूर्ण मद्दत पुर्याउने उनले विश्वास व्यक्त गरे। रासस
Shares

प्रतिक्रिया