गएको बिहीबार राति ९ः२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विजश्वकर्माको समयमै साल निस्किएन।
चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र साल निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रत्तस्राव पनि भइरहेको थियो । अड्किएको साल र रक्तस्रावले मनकुमारी सिकिस्त बन्दै गइन्।
पच्चीस वर्षीया विक सुत्केरी भएको मल्कवाङ स्वास्थ्यचौकीबाट राति १ः०० बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई समस्याको जानकारी गराइयो। लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्तसागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गरे।
चिकित्सक र स्वास्थ्यकर्मी तयार भए तर राति भएकाले सवारी साधन पाएनन् । केन्द्रमा सवारी साधनको सुविधा छैन । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मालिकाका उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको व्यवस्थापन गरिदिइन्।
बीच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अवरुद्ध थियो। अध्यक्ष पुनले राति नै मराङका वडाध्यक्ष राजाराम सुवेदी र स्थानीय युवा ईश्वर सुवेदीलाई फोन गरेर राति नै सडकको अवरोध हटाउन लगाए।
मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले १०ः०० बजे नै सिफारिस गरे पनि मनकुमारीका श्रीमान् र परिवारका सदस्यले साल नझरेको समस्यालाई सामान्यरूपमा लिएर धामी झाँक्री गर्नतर्फ लागे। स्वास्थ्यचौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाइबुझाई गरेपछि उनीहरु मनकुमारीलाई दरवाङ लैजान तयार भए।
मनकुमारीलाई मल्कवाङबाट मराङ स्वास्थ्यचौकीमा ल्याउने र चिकित्सक पनि दरवाङबाट मराङ पुग्ने योजना बनाएर दुवै टोली गाडीमा हुइँकिए । बिहान साढे ४ बजे मराङ स्वास्थ्यचौकीमा मनकुमारी र दरवाङबाट गएको स्वास्थ्यकर्मीको टोलीको भेट भयो । ‘बाटोमा जहाँ भेट हुन्छ त्यहीँ उपचार गर्ने योजनासहित औजार, उपकरण तयार पारेर हिँडेका थियौँ । हामीले भेट्दा उहाँको अवस्था ठिक थिएन’, चिकित्सक यादवले भने ‘बिहान ५.२७ मा अड्किएको साल निकालेर औषधि दिएपछि उहाँको स्वास्थ्यमा सुधार आयो।’
यादवको साथमा अनमी भीमा पुन, दीपा परियार र कार्यालय सहयोगी सम्मप्रसाद सुवेदीको टोली मनकुमारीको उपचारमा खटिएका थिए। शुक्रबार बिहान ७ः०० बजे मनकुमारीलाई दरवाङ ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझ नै सिफारिस गरिएको अहेव यमन नेपालीले बताए।
आमा र बच्चाको अवस्था खतरामुक्त र सामान्य छ । मनकुमारीले नयाँ जीवन पाएको बताइन्। ‘आठ घण्टासम्म छटपटी र पीडा भयो। अहिले मैले नयाँ जीवन पाएको महसुस गरेकी छु,’ उनले भनिन्।
बिहीबार उनले जन्माएको बच्चा पाँचौँ सन्तान हो। यसअघि उनले जन्माएका चारमध्ये दुई सन्तान मात्र जीवित छन् । गत वर्ष गाउँमा प्रसूति केन्द्र स्थापना भए पनि प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएका कारण अड्किएको साल निकाल्न नसकिएको हो।
साल ननिस्कने समस्यालाई चिकित्सक भाषामा रिटेण्ड पेलेसेन्ट र रक्तस्रवलाई पोष्ट पार्टयुम होमोरेन्ज भनिन्छ । अड्किएको सालले पाठेघरमा इन्फेक्सन गर्ने, रगत जम्ने, सास फेर्न गाह्रो हुने र अन्तमा ज्यानै जानसक्ने खतरा हुन्छ । जुन खतरापूर्ण अवस्थालाई मनकुमारीले जितेर नयाँ जीवन पाएकी छन्।
मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई प्रसूति तालिमको व्यवस्थाका साथै मातृशिशु स्वास्थ्यका विषयमा अब सचेतनामूलक कार्यक्रम चलाउने गाउँपालिकाका अध्यक्ष पुनले बताए। रासस

प्रतिक्रिया