तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन्। काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना ६ ख ५८६५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परी घाइते भएकाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते भएका सबै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी बाधमा नदीमा आज एक महिला मृतावस्थामा फेला परेकी छिन्। इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएअनुसार मृत्यु हुनेमा गोरखा पालुङ्टार नगरपालिका–३ निवासी ५२ वर्षीया फूलमाया सार्की रहेकी छिन्।
मङ्गलबार बिहान करीब ८ बजे घरबाट निस्केकी फूलमाया आज दिउँसो मस्र्याङ्दी नदी ड्याममा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीले लामो समय लगाएर शव बाहिर निकालेको थियो। शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। ती महिलाले आत्महत्या गरेकी हुन् वा नदीले बगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया