ad ad

समाज


निर्मलाको जस्तै भागरथीको पनि बलात्कारपछि घाँटी थिचेर हत्या

निर्मलाको जस्तै भागरथीको पनि बलात्कारपछि घाँटी थिचेर हत्या

गोकुल जोशी
माघ २६, २०७७ सोमबार १४:५८,

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको खुलेको छ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टले भागरथीको बलात्कार पछि हत्या भएको देखाएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या भएको खुलेको पुष्टि गरे।

‘पोष्टमार्टम रिपोर्ट आज हामीलाई प्राप्त भएको छ। रिपोर्टले हामीले आशंका गरेकै कुरालाई पुष्टि गरेको छ’ उनले नेपालखबरसँग भने, ‘स्वासप्रस्वास अवरुद्ध भएर मृत्यु भएको देखिएको छ।’

साढे दुई वर्ष अगाडि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालका–२ की बालिका निर्मला पन्तको घटना झैँ भागरथीको पनि बलात्कार पछि घाँटी थिचेर हत्या गरिएको खुलेको हो। प्रहरीका अनुसार मृतक किशोरीकोे टाउको र हातमा तथा यौनाङ्गमा पनि गहिरो चोट लागेको देखिएको छ।

‘शरीरभरि नीलडाम र स–साना घाउ पनि छन्। शव भेटिएको स्थान वरपर झाडी मडारिएको छ’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले भागरथीलाई घिसारेर त्यहाँ फालेको हुन सक्न सक्छ।’

बुधवार विद्यालयबाट सम्पर्कविहीन भएकी भागरथीको बिहीवार साँझ हत्या गरी फालिएको अवस्थामा घर नजिकैको लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाजस्तो लापरबाही नगरी अपराधीलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै स्थानीय सर्वसाधारण, राजनीतिक दल, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतले प्रहरी प्रशासनलाई घचघच्याइरहेका छन्।

निर्मला प्रकरणबाट पाठ सिकेको प्रहरीले भागरथी प्रकरणमा गम्भीर संवेदनशीलता देखाएको छ। आइतवार सुदूरपश्चिम प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदी पनि घटनास्थलको अध्ययनका लागि बैतडीमा छन्। घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय र जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण अधिकारीको छुट्टा–छुट्टै टीम सक्रिय छ।

प्रहरीका अनुसार शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मृतक भागरथीसँग नजिक, घटनाको दिन घटनास्थलको बाटो हिँडडुल गर्ने तथा घटनाबारे थाहा भएकाहरुमाथि निगरानी बढाइएको प्रहरी स्रोतले बतायो।

अनुसन्धानमा किशोरीले प्रयोग गर्ने मोबाइल पनि पछ्याइरहेको प्रहरी स्रोतले बतायो। घटनास्थलमा भेटिएको किशोरीको मोबाइल, सिमकार्डमाथि पनि अनुसन्धान टोलीले विश्लेषण गरिरहेको छ।

याे पनि : 

निर्मला हत्या सम्झाउने बैतडीको घटना, त्यो बाटै हिँड्न डराउँछन् महिला

युवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

भागरथीको लागि न्याय माग्दै ठाउँ-ठाउँमा प्रदर्शन

पढ्न गएकी युवती जंगलमा मृत भेटिइन्, बलात्कारपछि हत्या गरिएको आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .