उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्किँदा डेढसय बेपत्ता भएका छन्। अहिलेसम्म नौजनाको शव फेला परेको प्रहरीले जनाएको छ।
उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन्। कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले करिब डेढ सय मानिस हराइरहेको हुनसक्ने बताएका छन्।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पु¥याएको भिडियोहरूमा देखिन्छ।
हराइरहेकामध्ये अधिकांश स्थानीय जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरु रहेका बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘सबैको कुशलताका निम्ति यतिवेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ।’ भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ।
इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारी अनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको छ।

प्रतिक्रिया