बिहीबार साँझ करिब ७ बज्दै थियो, जिल्लाको दोगडाकेदार गाउँपालिकानिवासी परिचित शिवराज भट्टले फोन गरे।
‘मेरी भतिजी भागरथी भट्ट, १७ वर्षकी, हिजोदेखि हराइरहेकी, आज त चडेपानी गाउँ तलको लवलेक जंगलमा शव फेला प¥यो, बलात्कार भएको छ । बीभत्स छ शव,’ यस्तै पूर्ण हतासामा रहेका उनले यस्तै अपूर्ण वाक्यमा आफ्नो भनाइ टुंग्याए।
चिसो मात्र थियो, अँध्यारो भइसकेको थियो, बाहिर पानी पनि पर्न सुरु भइसकेको थियो । आफ्नै जिल्लामा यति ठूलो अपराध भएको खबरले ज्यानमा झन् चिसो पानी खन्याएजस्तो भयो।
मैले तुरुन्तै स्थानीय खोचलेक प्रहरी चौकीमा सम्पर्क गर्न प्रयास गरेँ । जिल्ला सदरमुकामा गोठालापानीबाट करिब ३३ किलोमिटर पूर्वउत्तरमा रहेको प्रहरी चौकीमा फोन नै लागेन । खासमा प्रहरी चौकीमा रहेको टिनको छाप्रो पनि नेपाल प्रहरीको आफ्नै होइन । मासिक भाडा तिरेर प्रहरी बसिरहेको छ । त्यसले नै बताउँछ, जिल्लाको विकास ।
तर, त्यही क्षेत्रमा भारतीय सिमको नेटवर्क भने चल्छ । जब कि त्यहाँबाट भारतीय सिमाना करिब ६० किलोमिटर तल छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा बैतडीबाट लोकेश साउदले लेखेका छन्।
प्रहरी कार्यालयमा कसैको पनि फोन लागेन । त्यसैले यो विषयमा थप स्पष्ट हुन स्थानीयलाई फोन लगाउने प्रयास गरेँ । संयोगले एक स्थानीयको भने फोन लाग्यो । उनले भने, ‘हो, भागरथी अघिल्ला दिनदेखि नै हराइरहेकी हुन् । उनका आफन्तले तत्कालै प्रहरीमा उजुरी पनि गरेका हुन् । तर, प्रहरीले भोलि खोजौँला भनेर पठाइदिए । तर, आज लास मिल्यो भनेर गाउँलेले खबर गरेपछि प्रहरी घटनास्थलमा आएको छ।’
जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण अधिकारीलाई फोन गरेँ । उनले भने, ‘शव भेटियो भन्ने खबर आएको छ । म आफैँ नै अहिले घटनास्थलमा जाँदै छु ।’ जिल्ला प्रहरी प्रमुखले नै कोट दिएपछि मैले सो दिन आफ्नो सञ्चारगृहका लागि समाचार तयार पारेँ।
दोस्रो दिन बिहानै एउटा गाडी बुक गरेर हामी दोगडाकेदारतर्फ लाग्यौँ । सदरमुकामबाट १५ किलोमिटर दशरथचन्द राजमार्ग र सतबाँझदेखि १५ किलोमिटर उत्तर–पश्चिम दार्चुला सडक पार गरेपछि खोचलेक बजार पुगिन्छ । त्यही बजारको पाँच किलोमिटर पश्चिमतर्फको डाँडोमा चडेपानी गाउँ छ । गाउँकी १७ वर्षीया भागरथी भट्ट स्थानीय सनातन धर्म माविमा १२ कक्षामा पढ्थिन् ।
सनातन धर्म माविमा पढ्ने किशोरीमाथि भएको ‘अधर्म’ले गाउँ आक्रोशित थियो, हामी त्यहाँ पुग्दा स्थानीय जनता र विद्यार्थीले हत्यारालाई कारबाही गर भन्दै जुलुस निकालेका थिए । जुलुससहित घटनास्थलमै पुगेका विद्यार्थीले प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन र दोषीलाई शीघ्र कानुनको दायरामा ल्याउन माग गरे ।
खासमा भागरथी पढाइमा अब्बल थिइन्, त्यसैले आफ्नो गाउँबाट कमर्स विषय पढ्ने उनी एक्ली थिइन् । विद्यालय जाँदा उनका साथमा गाउँका दर्जनौँ विद्यार्थी हुन्थे । विषय फरक भएका कारण उनको कक्षा एक घन्टा अगाडि नै सकिन्थ्यो । २ बजे फर्कँदा भने उनी प्रायः एक्लै हुन्थिन् । उनी हिँडेकोे ४५ मिनेटपछि मात्र अरू विद्यार्थीको छुट्टी हुन्थ्यो । तब विद्यार्थीको हुल चडेपानी गाउँतर्फ उक्लिन्थ्यो ।
गत बुधबार पनि सधैँझैँ भागरथी २ बजेतिर विद्यालयबाट बाहिरिइन्। प्रत्यक्षदर्शीका अनुसार खोचलेक बजारबाट उकालो लाग्दै गर्दा उनको साथमा गाउँकै दुईजना विद्यार्थी थिए । उनीहरूले कपाल काट्ने भनेर बजारमै अलमलिनुपर्ने बताएपछि भागरथी एक्लै घरतर्फ लागेको बताएका छन् । ढिलो हिँडेका सबै विद्यार्थी घर पुगे, छिट्टै हिँडेकी भागरथी घर पुगिनन् ।
आफन्तहरूले साँझैदेखि गाउँमा सोधखोज गरे । छरछिमेक र उनका साथीहरूको घरमा खोजे । राजमार्गका गाडी ‘चेक’ गर्न लगाए । अत्तोपत्तो चलेन । भोलिपल्ट भागरथी हराएको खबर सबैतिर फैलिसकेको थियो, विद्यालयमा पनि । शिक्षकहरूले चडेपानी गाउँका सबै विद्यार्थीलाई भनेका थिए– बाटो छेउछाउ हेर्दै घर फर्किनु है।
सिल्ल गाउँनजिकै बाटोछेउमा कसैले भन्यो– ऊ त्यहाँ त कोही मानिसजस्तो छ । मानिसजस्तो कोही भेटिएको छ भन्ने खबर आएपछि आफन्तहरू हस्याङफस्याङ गर्दै त्यहाँ पुगे । उनीहरूले भागरथीलाई देखे, तर त्यतिन्जेलम्म उनी निष्प्राण भइसकेकी थिइन् ।
भागरथी सम्पर्कविहीन भएको २५ घन्टापछि बिहीबार बेलुका ५ बजे उनको शव फेला प¥यो । लवलेक जंगलको कच्ची सडकभन्दा करिब ५० मिटर तल शव थियो । टाउकोमा घाउ थियो । शरीरको तल्लो भागको लुगा फुकालिएको थियो, उनको निजी अंगबाट रगत बगेको थियो । कापी–किताबसहितको झोला भने पिठ्युँमै थियो । बनमारा झाडीका बुट्यान भाँचिएका थिए।
प्रहरीले दिनभर घटनास्थलमा अनुसन्धान गर्दा गाउँका सयौँ आमाहरू, भागरथीका समकक्षी साथीहरू र पूरै गाउँलेले दिनभरि घटनास्थल छोडेनन् । सबैका आँखा आँसुले भरिएका थिए । बनमाराको झाडीमा पातलो लुगाले छोपेर राखिएको भागरथीको शवतर्फ हेर्दै उनीहरू आँसु पुछ्दै थिए।
घटनास्थललाई प्रहरीले सिल गरेको थियो । डिएसपी नारायण अधिकारीसहितको प्रहरी टोली मात्र होइन, प्रमुख जिल्ला अधिकारी मोहन जोशी, जिल्ला अस्पतालका डा.वसन्त जोशी, सरकारी अधिवक्ता धर्मराज जोशीलगायत पनि घटनास्थलमा थिए । तालिमप्राप्त कुकुरसहित प्रदेश प्रहरी कार्यालय धनगढीको टोली पनि अनुसन्धानमा खटिएको थियो।
अनुसन्धानको मूल पाटो नै खुला नभएकाले बलात्कारको औपचारिक पुष्टि पनि भएको छैन । तर, अनौपचारिक रूपमा भने प्रहरी भन्छ, ‘उनको शरीर र कपडा जे–जस्तो अवस्थामा भेटिएका छन्, यो बलात्कार मात्र होइन, सामूहिक बलात्कार हुन सक्ने सम्भावना छ । किनकि उनीमाथि जुन स्तरको हिंसा र अपराध भएको छ, त्यो काम एकजनाले मात्र गर्न सक्ने सम्भावना कम छ।’
सडकको खोल्सोबाट उनलाई करिब ५० मिटर तल लगेजस्तो देखिन्छ । बीचमा उनको चप्पल खसेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट ल्याइएको तालिमप्राप्त कुकुरले शव भएको ठाउँभन्दा करिब १० मिटर पूर्वतर्फ बनमाराको झाडीमा उनको मोबाइल पत्ता लगायो । छुट्टिएको ब्याट्रीसँगै प्रहरीले सिम कार्ड पनि फेला पारेको छ।
अपराधीसम्म पुग्न यो एउटा गतिलो प्रमाण बन्न सक्ने प्रहरीको अनुमान थियो । मोबाइल फालिएको ठाउँबाट केही मिटर उत्तर–पूर्वसम्म पनि प्रहरीको तालिमप्राप्त कुकुरले पछ्याएको थियो । तर, राति पानी परेका कारण कुकुरबाट थप अनुसन्धान गराउन बाधा सिर्जना भएको प्रहरी स्रोतले जनायो।

प्रतिक्रिया