डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ।
डोटीमा खोप लगाएका ८ सय ७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।
केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किएका उनको भनाई छ।
पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिए।
डोटीमा खोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेका छन् । गएको बुधबारदेखि शुरु भएको कोरोनाविरुद्धको खोप लगाउने अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउने गरिएको छ। खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ।
जिल्लामा जम्मा एक हजार ६२० डोज भ्याक्सिन आएको अस्पताल स्रोतले जनाएको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायतलाई खोप लगाउन सुरु गरेको छ। डोटीमा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।
‘हामी पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा चालकलाई खोप लगाउँदैछौँ, त्यसपछि सरकारको निर्देशनअनुसार अन्यलाई लगाउनेछौँ,’ मलासीले भने।
जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भए पनि त्यो समय बढाएर माघ २२ गतेसम्म पुर्याइएको छ। खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय थप गरिएको हो। रासस

प्रतिक्रिया