कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण निधन भएको हो। यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार २७ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७० हजार ८ सय ५४ जना छ भने २ लाख ६६ हजार ४८ जना अर्थात ९८।२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।
साक्षरतासम्बन्धी निर्देशिका जारी
गैरआवासीय नेपाली संघ अन्र्तगतको स्वास्थ्य समितिले खोप साक्षरता सम्बन्धी निर्देशिका जारी गरेको छ। आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ।
सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्ड लगायतका विषयहरु समेटिएका छन्।
यसैबीच स्वास्थ्य समितिले छिट्टै स्वास्थ्य सम्बन्धि एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसको आवश्यक तयारी र लक्षित समूह पहिचानको काम भइरहेको छ।
कोभिड–१९ विरुद्धको खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने
स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाब दिएको छ।
हालसम्म कुनै पनि खोपको प्रभावकारिता शत्प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उनको भनाइ छ। खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताए। रासस

प्रतिक्रिया