भारतले आफ्नै भर्चुअल मुद्रा ल्याउने तयारी गरेको छ। यससम्बन्धी नयाँ कानुन ल्याएर बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै आफ्नै भर्चुअल मुद्रा ल्याउनलागेको हो।
उक्त मुद्रा भारतको केन्द्रीय बैंकले जारी गर्ने गरी सरकारले संसदमा छलफलको विषय बनाएको रोयटर्सले जनाएको छ। नयाँ कानुनले आधिकारिक डिजिटल मुद्रा निर्माण गर्ने फ्रेमवर्क तयार गर्नेछ।
यससम्बन्धी विवरण भारतको तल्लो सदनले गत शुक्रबार आफ्नो वेबसाइटमै प्रकाशित गरिसकेको छ। उक्त विधेयक अब संसदमा छलफल हुनेछ। यसले भारतमा सबैखाले निजी क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरिएको छ।
तर क्रिप्टोकरेन्सीको प्रविधि र यसको प्रयोगलाई भने केही छुटसम्बन्धी प्रावधान राखिएको बताइएको छ।
सन् २०१९ को मध्यतिरै भारत सरकारको एउटा प्यानलले निजी क्रिप्टोकरेन्सीहरुमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको थियो। त्यसमा डिजिटल मुद्रा कारोबारीमाथि १० वर्षे जेल सजायसहित मोटो रकम जरिवाना माग गरिएको थियो।
तर उसले सरकारी डिजिटल मुद्रा ल्याउन भनेको थियो। रिजर्भ बैंक अफ इन्डियाअन्तर्गत अन्य नोटहरु जस्तै प्रयोज्य हुने गरी आधिकारिक भर्चुअल मुद्रा ल्याउन भनिएको थियो।
त्योभन्दा अघि नै सन् २०१८ अप्रिलमा आरबीआईले वित्तीय संस्थाहरुलाई भर्चुअल करेन्सीसँग सम्बन्धित व्यक्तिगत र व्यावसायिक कारोबारसम्बन्धी सम्झौता तोड्न भनेको थियो।
पछि अर्थात् सन् २०२० मार्चमा भारतको सर्वोच्च अदालतले विनिमय कारोबार र व्यापारीहरुलाई डिजिटल मुद्रा कारोबार गर्न दिने आदेश दिएको थियो।

प्रतिक्रिया