कोरोनाविरुद्धको खोप माग अनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका बेला ईयूले युरोपमा बनेको कोरोना भाइरसको खोप निर्यातमा प्रतिबन्ध लगाएको हो।
खोप निर्यातमा प्रतिबन्ध लगाएको पुष्टि गर्दै ईयूले भनेको छ,‘हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो प्राथमिकता हो। अहिलेको चुनौतीले हामीलाई अरू विकल्प दिएन।’
बीबीसीका अनुसार युरोपमा खोप निर्माता कम्पनीले ईयूसँग गरेको सम्झौता अनुरूप काम गर्न नसकेमा ईयूले त्यहाँ बनेका खोप निर्यात गर्न प्रतिबन्ध लगाउनसक्छ।
विश्व स्वास्थ्य सङ्गठनसहित अन्यले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन्।
युरोपेली आयोगका अनुसार एस्ट्राजेनेकाले आफूहरुसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न सकेको छैन।
नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका लागि ऊसँग अनुमति लिनुपर्नेछ।
फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप यूकेमा निर्यात भइरहेको छ। यूके ईयूबाट अलग्गिएको राष्ट्र हो।
सम्झौता अनुरूप मार्च महिनासम्ममा उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ।
ईयूले कोभ्याक्सका लागि खोप दान, गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्वीट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिकी देशहरुमा भने प्रतिबन्ध लागू नहुने बताएको छ।
हालको प्रतिबन्धले यूके, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित १०० मुलुकहरू प्रभावित हुनेछन्। बीबीसी

प्रतिक्रिया