आज (बुधबार) देखि नेपालमा पनि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे भर्चुअल माध्यमबाट खोप अभियान उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटन क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, सहिद गंगालाल अस्पतालका चिकित्सक/स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउनेछन्।
पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशका सातै प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३०० भन्दा बढी खोप केन्द्रबाट खोप लगाउन सुरु गरिनेछ।
भारतले अनुदानस्वरूप पहिलो चरणमा दिएको कोरोनाविरुद्धको ४ लाख ५० हजार डोज खोप सातै प्रदेश पुर्याइसकिएकाे छ। भारतले जम्मा १० लाख खोप दिने बताएको छ। बाँकी डोज अर्काे चरणमा आउनेछ।
काेराेना खाेपबारे सर्वसाधारणकाे मनमा हुन सक्ने १६ प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पर्चामार्फत सार्वजनिक गरेका उत्तर यस्ता छन् :
१. के मैले कोभिड-१९ अर्थात् कोरोना भाइरस रोगविरुद्धको खोप लिन जरूरी छ?
–यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ। खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ। साथै, यो खोप लगाएपछि, तपाईंबाट अरूलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ। नेपालमा कोरोना भाइरसविरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिस गरिएको छ।
२. कति छिटो हामीले यो खोप पाउँछौं?
–सबै नेपालीलाई पुग्ने गरी खोपको परिमाण एकैपटक उपलब्ध हुन नसक्ने भएकाले यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रूपमा सबैलाई क्रमशः दिइनेछ। नेपालमा कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरका आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकीकरण गरिएको हो। यो प्राथमिकीकरण विश्व स्वास्थ्य संगठनको सिफारिसका आधारमा पनि गरिएको हो।
पहिलो प्राथमिकतामा हाम्रो जीवन र स्वास्थ्यसँग सीधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई राखिएको छ। कोरोना भाइरस रोग संक्रमण हुने र अरूलाई पनि संक्रमित गराउने सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा नै अवरुद्ध हुन गई हामी सबै स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने भएकाले पनि स्वास्थ्यकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिएको हो।
उनीहरूसँगै एम्बुलेन्स चालक तथा सहचालकहरू, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, वृद्धाश्रममा कार्यरत कर्मचारीहरू, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरूलाई यसै प्राथमिकतामा राखिएको छ।
दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका महिला तथा पुरुषहरूलाई राखिएको छ। यो उमेर समुहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ। साथै, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोग भएका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ। दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारहरूलाई पनि यसै चरणमा खोप लगाइने छ।
तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ। १८ वर्षमुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भइरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन।
३. के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ?
–पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ। संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन÷थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ।
४. यो खोप कुन उमेर समूहलाई दिइन्छ?
नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध शपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निःशुल्क दिइन्छ।
५. यो खोप लिएपछि फेरि कोरोना संक्रमण हुन्छ?
हुन सक्छ। यो खोप लिएपछि पनि केहि व्यक्तिहरूमा कोरोना संक्रमण हुन सक्छ। तर खोप लिएपछि कोरोना संक्रमण भए तापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ। त्यसैले खोप लिएपछि पनि भीडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दूरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ।
६. यो खोप कहाँ लगाउन पाइन्छ?
यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निःशुल्क दिइन्छ।
७. यो खोप कसले लगाउनु हुँदैन?
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरू लिनुहुँदैन। साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहुँदैन। यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिस गरिएका छैन।
८. के स्वास्थ्य समस्या भएकाहरुले खोप लिन हुन्छ?
हुन्छ। मुटु रोग, श्वासप्रश्वाससम्बन्धी समस्या, मधुमेह (सुगर), सिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ। कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ।
९.यो खोप कतिको सुरक्षित छ?
सुरक्षित छ। यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो। विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो।
१०. यो खोपको कति मात्र लगाउनुपर्छ?
–कम्तीमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ।
११. यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन्?
–कोभिड-१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन्। यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांशपेसी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन्। यस्ता सामान्य असरहरू बिस्तारै ठीक भएर जान्छन्।
१२. के यो खोपको दीर्घकालिन असरहरू पनि छन्?
–कोभिड-१९ नयाँ खोप भएकोले यसका हुनसक्ने दीर्घकालीन असरहरूका बारेमा थप समयपछि मात्र थाहा हुन्छ। खुसीकोे कुरा, अनुमति प्राप्त सबै खोपहरू विभिन्न चरणको क्लिनिकल परीक्षणमा सुरक्षित पाइएको छ।
१३. के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं?
–पूर्ण रूपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ। पहिलो मात्रा लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरू : दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचीमिची हात धुने व्यवहारहरूको नियमित पालना गर्नेपर्छ।
१४. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ?
–खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझै पनि यकिन भएको छैन।
१५. के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ?
–पार्दैन। यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ।
१६. खोप सेवाका वारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ?
–आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था वा आमसञ्चारका माध्यमहरूमार्फत कोरोना भाइरस रोगविरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ। यदि तपाईं खोप पाउने प्राथमिकीकरणमा पर्नुभएको छ भने समूहअनुसारको सूचीमा आफ्नो नाम भए/नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस्।


प्रतिक्रिया