दुई सातापछि सुन खानीबाट उद्धार गरिएका चिनियाँ श्रमिकले आफूहरूले पुनर्जन्म पाएको बताएका छन्।
दुई साताअघि चीनको एक सुनखानीमा २२ श्रमिक फसेका थिए। खानीमा फसेका एक जनाको अवस्था अझै अज्ञात छ भने १० जना मृत भेटिएका छन्।
दुई हप्ता लामो प्रयासपछि नाटकीय रूपमा उद्धार गरिएका श्रमिकले आफूहरूलाई यो घटना एउटा सपनाजस्तो लागेको बताएका छन्। ‘मलाई पुनःजन्म लिएको महशुस भइरहेको छ,’ खानीमा जनवरी १० मा फसेर २ सातापछि उद्धार गरिएका डु थर भएका एक श्रमिकलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सीजीटीएनले आफ्नो समाचारमा लेखेको छ।
अस्पतालमा उपचार गराइरहेका डुले लामो समयपछि आफूलाई जीवितै उद्धार गर्ने अधिकारीहरूप्रति खुशी प्रकट गर्दै भने, ‘मैले एउटा सपना देखेजस्तो भएको छ, हामीले मृत्युलाई जितेर पुनः यस धर्तीमा आउने अवसर पाएको महशुस गरेका छौँ।’
उनले अगाडि भने, ‘पहिलो नौ दिनसम्म हामीसँग खानेकुरा थिएन । हाम्रो उद्धारमा खटिने अधिकारीलाई व्यक्त गर्ने शब्द नै छैन । धेरै खुशी छौँ,’ डुले भने। उनी उद्धार गरिएका श्रमिकमध्ये आफूहरु जीवितै रहेको सूचना पठाउने एक श्रमिक हुन्।
जसका कारण उनीहरूलाई नौ दिनपछि पहिलो पटक औषधि, खानेकुरा र सूचना आदानप्रदानका लागि खानीभित्र फोन पठाइएको थियो। उद्धार गरिएका अर्का श्रमिकले भने, ‘यति गहिराईसम्म चट्टान खनेर उद्धार गर्नु कम चुनौतीपूर्ण काम थिएन । हाम्रो उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्पूर्ण टोलीप्रति हामी कृतज्ञ छौँ।’
खानीमा फसेकामध्ये टाउकोमा चोट लागेका एक श्रमिकको गत साता मृत्यु भएको थियो भने अन्य नौ जना गत सोमबार मृत अवस्थामा फेला परेका थिए। अझै एक श्रमिकको अवस्था अज्ञात छ। उनको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन्।
उद्धार गरिएका सबै श्रमिकको स्वास्थ्य अवस्था स्थिर छ। उनीहरूको स्थानीय उक अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।
खानीमा रहँदा श्रमिकहरूले एक अर्कालाई आश्वासन दिँदै सबैको उद्धार हुने बताउने गरेका थिए। तर आफू भने भोकले खानी भित्रै मरिने हो कि भन्ने अवस्थामा पुगेको डुले बताए । जमिनको सतहबाट पुगेको खाना, औषधि र फोनले आफूहरूमा बाँकि जीवन जीउने आशा पलाएको उनले बताए। एजेन्सी

प्रतिक्रिया