कोरोना भाइरसको संक्रमण हुने डरले उनी विमान चढ्न डराएको बताइएको छ।
३६ वर्षका आदित्य भारतीय–अमेरिकी नागरिक भएको बताइएको छ। उनलाई शनिबार मात्र विमानस्थलका अधिकारीहरूले पक्राउ गरेका थिए।
उनी तीन महिनासम्म शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षित भागमा लुकेर बसिरहेको पाइएको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन्।
उनीसँग पहिचानपत्र माग गरेका कर्मचारीहरूलाई सिंहले एउटा ब्याज देखाएका थिए।
तर त्यो ब्याज एक व्यवस्थापकको थियो र उनले अक्टोबरदेखि सो ब्याज हराइरहेको रिपोर्ट गरेका थिए।
प्रहरीका अनुसार सिंह लस एन्जलसबाट शिकागोको ओुहेर अन्तर्राष्ट्रिय विमानस्थलमा १९ अक्टोबरमा आइपुगेका थिए।
उनले विमानस्थलमा सो ब्याज भेट्टाएको र कोभिडका कारण घर जान डर लागेकाले त्यहीँ बसिरहेको राज्यका सहायक अभियोजनकर्ता केथीलिन हेगर्टीलाई उद्धृत गर्दै शिकागो ट्रिब्यूनले लेखेको छ।
ती व्यक्ति अन्य यात्रुहरूले दिएका खानेकुरामा निर्भर थिए। कुक काउन्टीकी न्यायाधीश सुजान ओर्टिजले यो मुद्दाको प्रकृतिबारे आश्चर्य प्रकट गरेकी थिइन्।
सिंह लस एन्जलसको बाहिरी भागमा बसोबास गर्छन् र उनको कुनै आपराधिक पृष्ठभूमि नरहेको अभियोजनकर्ता कोर्टनी स्मलवुडले बताइन्। उनी किन शिकागो पुगे भन्ने स्पष्ट भएको छैन।
उनीविरुद्ध विमानस्थलको प्रतिबन्धित क्षेत्रमा अनधिकृत आपराधिक प्रवेश गरेको अनि चोरी गरेको अभियोग लगाइएका छन्।
एक हजार डलर जमानत तिरेर रिहा भएपछि पनि उनलाई त्यसपछि उक्त विमानस्थलमा प्रवेश गर्न दिइने छैन। बीबीसी

प्रतिक्रिया