समाज


विज्ञ भन्छन् : नेपालमा नयाँ कोरोना भित्रिनु गम्भीर चिन्ताको विषय

विज्ञ भन्छन् : नेपालमा नयाँ कोरोना भित्रिनु गम्भीर चिन्ताको विषय

नेपालखबर
माघ ६, २०७७ मंगलबार ४:४७,

नेपालमा पनि नयाँ कोरोना भित्रिएको पुष्टि भइसकेको छ। आनुवांशिकता परिवर्तन गरी निकै संक्रामक बनेको कोरोना भाइरस बेलायतबाट फर्किएका तीन नेपालीमा पाइएकाे हाे।

याे पनि :  बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

यो नयाँ भाइरस पहिलेको भन्दा ७० प्रतिशत बढी फैलिने तथ्य यसअघि नै वैज्ञानिकले पुष्टि गरिसकेका छन्।

यसले ल्याउने स्वास्थ्य जटिलता भने पहिलेको भाइरसले ल्याउनेभन्दा बढी छ भन्ने प्रमाण अहिलेसम्म प्राप्त भइसकेको छैन। तर पनि याे नेपालमा भित्रिनु गम्भीर चिन्ताको विषय भएको स्वास्थ्य मन्त्रालयका सह-सचिव वरिष्ठ भाइरोलजिस्ट डाक्टर वासुदेव पाण्डे बताउँछन्।

नयाँ काेराेना बेलायतबाट आएका ती ३ नेपालीमा मात्रै सीमित हाे कि अन्यमा पनि सरिसक्याे भन्ने कुरा अन्याेल रहेकाे उनी बताउँछन्। उनका अनुसार सम्बन्धित निकायले तुरुन्त यसकाे अध्ययन थाल्न जरुरी छ।  

अर्काे कुरा, याे नयाँ भाइरसकाे सर्ने क्षमता पुरानाेकाे भन्दा ७० प्रतिशत बढी भन्ने प्रमाणित भइसकेकाले स्वाभाविक रूपमा पहिलेभन्दा धेरै मानिस संक्रमित हुने जाेखिम छ। 

‘यो भाइरस ज्येष्ठ नागरिक, रोगी व्यक्तिमा सर्‍याे भने त मृत्यु हुने जोखिम पनि त बढ्यो,’ डा. पाण्डेले मंगलबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले यो निकै चिन्ताको विषय हो।’

यसअघि इपिडिमियाेलजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे भर्खरै स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन्। 

डा. पाण्डेका अनुसार अर्काे चिन्ताकाे कुरा विदेशमा सुरुमा याे भाइरस क्यान्सर राेगी तथा कुपाेषणले ग्रस्त मानिसबाट फैलिएकाे पाइएकाे छ। 

‘बेलायतमा यो भाइरस लिम्फोमा भन्ने क्यान्सर भएको बिरामीबाट भएको रहेछ, दक्षिण अफ्रिकामा पनि कुपोषणका बिरामीबाट आएको रहेछ,’ उनले भने, ‘नेपालमा पनि कुपाेषण भएका मानिस ३६ प्रतिशत छन्, क्यान्सरका बिरामी पनि त्यत्तिकै छन्।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन हाल नयाँ कोरोना तीन जनामा देखिए पनि यो प्रजाति पहिले नै समुदायमा फैलिसकेको पनि हुन सक्ने आशंका व्यक्त गर्छन्।

उनी भन्छन्, ‘पहिलो कुरा यो तीव्र गतिमा फैलिन्छ, अर्काे कुरा भर्खर जति जनामा यो देखियो, अर्थात् हामीले जति पत्ता लगायौं, त्यतिमा मात्रै यो सीमित हो कि समुदायमा पनि कसैले बोकेर हिँडिरहेको छ र सर्ने क्रममा छ भन्ने थाहा पाउन जरुरी छ।’

सुरुमा बेलायतमा देखिए पनि कोरोनाको यो नयाँ प्रजाति भारतलगायत अन्य धेरै देशमा फैलिसकेकाले बेलायतबाट फर्किनेहरूको मात्रै निगरानी गर्ने कि अन्य देशबाट फर्किनेकाे पनि निगरानी गर्ने भन्ने प्रश्न रहेकाे उनी बताउँछन्।  

डा‍. पुनका अनुसार याे तीव्र गतिमा फैलिने भएकाले नेपालमा यसकाे प्रसार व्यापक भएका खण्डमा अस्पतालले धान्न सक्दैन।

‘बेलायत, अमेरिकामा जस्तो व्यापक रूपमा फैलयो भने त यहाँ हाम्रो अस्पताल, स्वास्थ्य सेवाले कतिको धान्न सक्ला,’ उनले भने, ‘त्यसैले यस हिसाबले यो चिन्ताकै विषय हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad