पूर्वी चीनको भूमिगत सुनखानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवितै रहेकोे संकेत भेटिएको छ।
खानी भत्किएर पुरिएका २२ श्रमिक एक सातासम्म पनि खानीमा जीवित रहेका संकेत भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। फसेका श्रमिकको उद्धारका लागि थप प्रयासहरू शुरु भएका चिनियाँ अधिकारीले बताएका छन्।
खानीमा विस्फोट हुँदा बाहिर निस्किने भ¥याङ भत्किएका कारण उनीहरू खानीभित्र फसेका हुन् । खानीभित्र रहेका ती मजदूरसँग सम्पर्क हुन सकेको छैन। जमिनभित्रबाट कसैले ढकढकाएको आवाज आएको उद्धारकर्मीहरूले बताएका छन्। तर, यो आवाज श्रमिकको नै हो भन्ने पुष्टि भने नभएको उद्धारकर्ताहरुको भनाई छ।
चीनको पूर्वी प्रान्त शान्दोङको किसिया सहर नजिकै रहेको सुन खानीमा रहेका उनीहरूलाई जीवितै उद्धार गर्ने आशा क्षीण बनेको समय उनीहरूमध्ये कोही जीवितै रहेको संकेत भेटिएको खबरले श्रमिकका परिवार र आफन्त आशाको सञ्चार भएको छ।
आइतवार दिउँसो उद्धारकर्मीहरूले खानीमा ‘ड्रिल’ गर्ने क्रममा ‘ढकढक्याइरहेका आवाजहरू’ सुनिएका सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। स्थानीय अधिकारीहरूले खानीमा खाद्यान्न र टेलिफोन लाइनहरू पठाउने योजना बनाएका छन्।
शान्दोङ इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको स्वामित्वमा रहेको खानीमा दुर्घटना हुँदा श्रमिकले खानीलाई सुरक्षित पार्ने काम गरिरहेको बताइएको छ । विष्फोटनको विषयलाई लिएर खानीसँग जोडिएका दुई अधिकारीलाई बर्खास्त गरिएको छ।
Shares

प्रतिक्रिया