समाज


कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा जागिर गुम्यो

कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा जागिर गुम्यो

नेपालखबर
माघ ३, २०७७ शनिबार ६:२७,

कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेसनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ।

एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो।

ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पीसीआर परीक्षण गर्न उनले स्वाब दिएका थिए। ‘पुस ५ गते कोरोना संक्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेसन बसेको थिएँ’, उनले भने, ‘कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन्।’

रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गरे। ‘टोल, छिमेकमा कोरोना संक्रमित भनेर दुव्र्यवहार सहनुप¥यो’, उनले भने, ‘आइसोलेसन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ।’

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ। रोजगारीको खोजीमा उनले चार वर्ष मलेसियामा काम गरेका थिए। बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन्। कम्पनीले मासिक रु १८ हजार तलब दिने गरेको थियो। जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ।

प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षागार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताए। काठमाडौमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad