ad ad

समाज


महोत्तरीका मिटरब्याजी अनुरुद्धबाट उनकी पत्नी पनि पीडित, यातना सहन नसकेपछि ८ वर्षदेखि माइतमा

महोत्तरीका मिटरब्याजी अनुरुद्धबाट उनकी पत्नी पनि पीडित, यातना सहन नसकेपछि ८ वर्षदेखि माइतमा

शैलेन्द्र महतो
माघ ३, २०७७ शनिबार ४:५,

महोत्तरीको भंगहा नगरपालिकाका कुख्यात् मिटरब्याजी अनुरुद्ध साहबाट उनकै श्रीमती पनि पीडित भएकाे पाइएकाे छ। 

चर्को ब्याजमा ऋण दिएर गरिबको उठीवास गराइरहेका उनले पत्नीलाई पनि बर्बर यातना दिएर घरबाट लखेटेका हुन्। 

पतिको हिंसा सहन नसकेपछि संगीता देवी १० वर्षीया छोरी चम्पासहित ८ वर्षदेखि महोत्तरीको बलबा नगरपालिका बलबा सरपल्लोमा शरणस्थित माइती घरमा शरण लिएर बसिरहेकी हुन् ।

संगीता न्यायका लागि वर्षौ‌देखि भौतारिरहेकी छन्। अनुरुद्धको मिटरब्याजी, ठगी, बेइमानी र परस्त्री गमनजस्ता गतिविधिबाट आजित उनले अंशसहित सम्बन्ध विच्छेद माग गर्दै महोत्तरी जिल्ला अदालतमा मुद्दा हालेकी छन्।

श्रीमान् अनुरुद्धविरुद्ध २०७५ भदौ ३१ मा मुद्दा दर्ता गराएको संगीताले जानकारी दिइन्।

उनीहरुका १६ वर्षीय छोरा आशिक साह र १० वर्षीया छोरी चम्पा छन्। तर छोरी जन्मेदेखि पतिले यातना दिन थालेकाले संगीता माइतकाे शरण लिन बाध्य भएकी हुन्। छोरालाई भने अनुरुद्धले पढाउने बहानामा छलछाम गरी आफूबाट खोसेर लगेको तर नपढाएकाे संगीताको गुनासो छ।

‘अनुरुद्धबाट अंश लिई सम्बन्ध विच्छेद नै गर्नुपर्ने धेरै कारण छन्। उनी मान्छे होइनन्, मानवको रुपमा राक्षस हुन्। विवाहको केही वर्षपश्चात् चर्को ब्याजमा ऋण लगानी गरी कैयौं गुणा बढीको तमसुक बनाउने, पर स्त्रीहरुसँग सामुन्नेमै अनैतिक सम्बन्ध राख्ने, बेइमानी ठगीजस्ता धन्दा गर्न थाले,’ संगीताले नेपालखबरसँग गुनासाे गरिन्। 

पति अनुरुद्धलाई त्यस्तो धन्दा नगर्न आग्रह गर्दा आफूलाई मरणासन्न हुने गरी कुटपिट गर्ने, घरबाट बाहिर निकालिदिने, दाम्लोमा बाँधेर राख्नेजस्ता यातना दिने गरेको संगीताको आरोप छ।

श्रीमानले मात्र होइन, जेठाजु लक्ष्मण साह, सासु पार्वती देवीसमेतले मलाई पटकपटक कुटपिट गरी यातना दिएका छन्। एकपटक जेठाजुले मेरो खुट्टा नै भाँचिदिएका थिए,’ संगीताले विगतका दुःख सम्झिँदै भनिन्, ‘त्यो घरमा सबै राक्षस प्रवृतिका छन्। अनुरुद्धलाई जसरी पनि पैसा चाहिएको छ। मलाई त इज्जत चाहिन्छ। त्यसैले म सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेको हुँ।’

श्रीमती विस्थापित भएयता अनुरुद्धले घरमा संगीताकै फूपू लक्ष्मीनियाँलाई राखेका छन्। अनुरुद्धले बेइमानी तथा ठगी गरेर जाेडेका १२ बिघाभन्दा बढी जग्गा लक्ष्मीनियाँकै नाउँमा पास गरिदिएको संगीताको भनाइ छ। अनुरुद्धका छिमेकीले समेत उनले फूपू सासू घरमा ल्याएर राखेको पुष्टि गरे। साथै उनले अन्य महिलालाई समेत घरमा ल्याएर अनैतिक सम्बन्ध राख्ने गरेकाे छिमेकीको आरोप छ।

श्रीमतीलाई कुटपिट तथा यताना दिएर भगाइदिएका छन्। फूपू सासूलाई आफ्नो रखेलजस्तै बनाएर राखेका छन्। बाहिरबाट महिला ल्याउँछन्। केही ऋणी महिलालाई धनसम्पति लिलाम गरिदिने लोभ देखाएर यौन सम्बन्ध राख्छन्,’ एक छिमेकीले नाम नबताउने सर्तमा नेपालखबरसँग भने, ‘अनुरुद्धलाई जे जसरी भए पनि केवल पैसा चाहियो। इज्जत, प्रतिष्ठाको कुनै ख्याल छैन।’

ठगीबाटै ८० बिघा जग्गा, १२ करोडभन्दा बढी ऋण लगानी
महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका मिटरब्याजी अनुरुद्धको २०५५ सालमा विवाह हुँदा सम्पत्तिको नाममा सगोलमा ५ बिघा जग्गा मात्र थियो। तर अहिले उनी अर्बपति छन्।

विभिन्न सहर र गाउँका घरघडेरी, खेत गरी उनले ८० बिघा जोडेको उनकी पत्नी संगीता सुनाउँछिन्। त्यति मात्र होइन, उनले १२ करोड रुपैयाँभन्दा बढी रकम मिटरब्याजमा लगाएको उनको दाबी छ।

जसका तमसुकमा अनुरुद्धले आफ्ना आमा, दाइ, भाउजू, फूपू सासू लक्ष्मीनियाँलाई धनीका रूपमा खडा गरेका छन्।

यस्तै अनुरुद्धले हालै भंगहा नगरपालिकामा आमा पार्वतीको नाममा क्रसर उद्योग पनि सञ्चालन गरेका छन्।

संगीताका अनुसार अनुरुद्धले जग्गा दाइ लक्ष्मण, आमा पार्वती, फूपू सासू लक्ष्मीनियाँ, भाउजू वन्दना लगायतका नाममा राखेका छन्। उनको नाममा भने १४ बिघाभन्दा केही बढी मात्र राखेको संगीताले बताइन्। दाइ, आमा, भाउजूलगायतका नाममा प्रतिव्यक्ति १० बिघाभन्दा बढी जग्गा रहेको संगीताको दाबी छ।

‘सम्पत्ति शुद्धीकरण भए फस्ने डरले अनुरुद्धले सबै काम/कारबाही आफ्नै नाममा गर्दैनन्। ऋण लगानीका साथै जग्गा/जमिन खरिद/बिक्री आफ्ना दाइ, आमा, भाउजू, फूपू सासुलगायतका नाममा गर्ने गरेका छन्,’ संगीताले भनिन्।

अनुरुद्ध साहबारे अनुसन्धान भए उनी जेल जाने निश्चित रहेको स्थानीयको दाबी छ।

ऋण लगानी गर्दा ५ गुणादेखि २४ गुणासम्म बढीको तमसुक गराउने, अगाडिको मिति लेखाउने, ऋणबिनै पनि तमसुक बनाउने, अदालतमा मुद्दा दायर गरेर गरिबका घरघडेरी लिलाम गरिदिने, लिएको पैसाको भर्पाई नदिने, ऋणी महिलालाई यौन सम्बन्ध राख्न दबाब दिने, अन्य मिटरब्याजीबाट सस्तोमा कपाली तमसुक किनेर मुद्दा लड्नेजस्ता धन्दा अनुरुद्धले गरिरहेको तथ्य नेपालखबरले खुलासा गरिसकेको छ।

उनीबाट उनको गाउँसहित वरपरवका धेरै व्यक्ति शोषण र अन्यायमा परेका छन्।

याे पनि :  

मिटरब्याजी अनुरुद्धको ठगी : ऋण नदिई तमसुक मात्र बनाएर गरिबको उठीवास

तमसुक किनेर मुद्दा चलाउँछन् मिटरब्याजी अनुरुद्ध, ऋणी महिलालाई यौन सम्बन्ध राख्न दबाब

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .